Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना


काठमाडौं । बेलायत निवासी कुल आचार्यले गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौको दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक समारोहका बीच शुक्रबार आचार्यले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पद्धति र पारदर्शिता ,समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणा गर्दै आचार्यले भन्नुभयो, एनआरएनएलाई सहि अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागीता र अपनत्व सृजना गरेर यो अभियान पूर्णता दिनेछु । गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने योजना रहेको छ ।

थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गर्नुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनका उपाध्यक्ष सोनाम लामा,पूर्व पदाधिकारी ,विभिन्न देशका एनआरएनएका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । संघको दशौ विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यम बाट विश्वभर बाट एकसाथ मतदान गर्ने तयारी गरिएको छ ।

को हुन कुल आचार्य ?
अध्यक्षका आकांक्षीहरु मध्येका एक कुल आचार्यको पुर्खौली थलो नेपालको पश्चिम पर्वत जिल्ला हो । आफूलाई धौलागिरी क्षेत्रको भनेर चिनाउन रुचाउने आचार्यको गैरआवासीय नेपाली संघमा लामो संलग्नता रहेको छ । संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष सम्म हुनु भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष रहनुभएका कुल आचार्यको होमकन्ट्री भने बेलायत हो । उसो त उनका ब्यबसाय युरोपका अन्य देशमा पनि छन् । बेलायतको राष्ट्रिय समन्वय परिषद हुँदै, युरोप क्षेत्रको क्षेत्रीय संयोजक, केन्द्रिय उपाध्यक्ष समेतको अनुभव आचार्यसँग छ ।

आचार्यले उम्मेदवारी घोषणासँगै आफ्नो चुनावी प्रचारलाई तिब्रता दिनुभएको छ । चुनावी प्रचारकै क्रममा आचार्य नेपाल आइपुग्नुभएको हो । यो पटक अन्तर्राष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पद मध्ये प्रवक्ता बाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलार्इ उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने उहाँको योजना छ।

आचार्यका मुख्य कार्ययोजना
– पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।
– म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।
– संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने ।
– राष्ट्रिय समन्वय परिषद ९एनसीसी० हरुको संख्या १०० पुराउने ।
– नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।
– बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति ९द्यक्ष्एएब्० एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।
– खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाइने छ ।
– कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।
– एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने ।
– विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।
– एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।
– गैर आवासीय नेपाली संघमा महिला सहभागिता बढाउन माग ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ