Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखरा पुगेर ११ जना राजदूतले दिएको सन्देश, ‘नेपाल पर्यटनका लागि खुला र सुरक्षित’

पोखरा पुगेर ११ जना राजदूतले दिएको सन्देश, ‘नेपाल पर्यटनका लागि खुला र सुरक्षित’


काठमाडौं, पोखरा । गत साल नेपालका लागि दक्षिण कोरियाली राजदूत नियुक्त भएर आएका पार्क योङ सुकले कोरोना महामारीले घुम्न निस्कन पाएका थिएनन् । राजदूत पार्क अहिले भने पोखरा घुमघाममा छन् । बादलले ढाकिनै आँटेको अन्नपूर्णलाई पृष्ठभूमिका राखेर पार्क योङ सुकले जीवनसाथीसँग सेल्फी खिच्दैगर्दा उनीसँगै अन्य धेरै राजदूत र विदेशी पाहुनाहरु पनि साथमै थिए ।

पोखरादेखि नौंडाँडा हुँदै कास्कीकोट दरबार पुगेका कुटनीतिज्ञहरु दक्षिणमा फेवाताल, पोखरा सहरसँगै देखिने थुम्काहरु, उत्तरमा हिमालय पर्वतहरु र जता फर्किए पनि मनै लोभ्याउने दृश्यहरु देखेर दंग थिए । ‘हाइकिङ गर्दै यस्तो सुन्दर ठाउँ आइपुग्न पाइयो ।’ अधिकांशको मुखबाट यस्तै सुनिन्थ्यो । यतिबेला ११ देशका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधि पोखरामा छन् । उनीहरुले नेपाल र पोखराको प्रशंसा गर्दै नेपाल सुन्दर, सुरक्षित र पर्यटनका लागि खुला रहेको सन्देश बाँडिरहेका छन् । पोखरामा रहेका राजदूतसहितको टोली नेपाली पञ्चेबाजामा रमाएका मात्रै छैनन, पोखरेलीको स्वागतबाट हर्षित छन् । सेलरोटी, अचार र स्थानीय परिकारको स्वाद चाख्न, प्रकृतिको मजा लिँदै हाइकिङ गर्न ब्यस्त छन् ।

राजदूतहरुले प्रवाह गरेको सन्देश
जर्मन राजदूत डा. थोमस प्रिन्ज प्राकृतिक तथा सांस्कृतिक सुन्दरताले मात्रै नभएर नेपाली आतिथ्यता र आत्मियताले पुलकित भएको बताउनुभएको छ । पोखरा घुमेपछि नेपालका लागि इजिप्टका राजदूत नोहा मेम्डी अह्मेदले आफ्नो देशका नागरिकलाई नेपाल घुम्न आउन आग्रह गर्ने बताउनुभयो । फिनल्याण्डका राजदूत पट्टी जुहानी एन्टिनेनले नेपालको पर्यटकीय सम्भावना निकै उच्च रहेको बताउँदै पोखरा घुमेपछि काठमाडौं बाहिर पनि सुन्दर नेपाल रहेको उल्लेख गर्नुभएको छ ।

युएईका राजदूत साहिद हमदान अल नक्बी अहिले नेपालमा भएका सबै राजदूतभन्दा पुराना हुनुहुन्छ । राजदूत नब्बीले कोरोनाको मार खेपेको नेपालले अब पर्यटकीय सम्भावनाकै कारण माथि उठ्ने बताउनुभयो । संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले सराङकोट पुगेर नेपाल घुम्न आउन आह्वान नै गर्नुभएको छ । अन्नपूर्ण हिमश्रृङ्खला, माछापुच्छ्रे हिमाल र पोखरालाई पृष्ठभूमिमा राखेर उहाँले नेपाल पर्यटकका लागि खुला रहेको सन्देश दिनुभएको थियो । नेपालको संस्कृति र प्रकृति महसुस गर्नुपर्ने भन्दै नेपाल घुम्न आउन आग्रह गर्दै सलोनयन्तिले टिकटकमा भिडियो नै पोस्ट गर्नुभएको छ ।

यसरी राजदूतहरु र कुटनीतिज्ञलाई पोखरामा भेला गर्ने सन्दर्भ थियो, विश्व पर्यटन दिवस र यो अवसरको चाँजोपाँजो मिलाएको थियो गण्डकी प्रदेश सरकारले । पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि खुला, सुरक्षित रहेको सन्देश दिन पर्यटन दिवसमा ११ देशका राजदूतसहित २५ जनाको विशिष्ट पाहुना डाकिएको र उनीहरु मार्फत नेपालको पर्यटन सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।

कोरोना माहामारीपछि देशमा धेरै देशका राजदूत सहभागी भएर कार्यक्रम भएको यो पहिलो पटक हो । पर्यटन क्षेत्र उकास्न सरकारीस्तरबाटै यसको नेतृत्व लिएर आयोजना हुँदा सबैभन्दा बढी निजी क्षेत्र खुसी छन् । निजी क्षेत्रकै योजनालाई गण्डकी प्रदेश सरकारले नेतृत्व गरेको हो । राजदूतसहितको विशिष्ट पाहुना, व्यवसायी र सरोकारवालाई सहभागी भएर गण्डकी प्रदेशले सम्मानमा रात्रीभोजको आयोजनासमेत गरेको थियो । कोरोनाले थला परेको पर्यटन उद्योग र जनजीवन उठाउँदै दिगो विकासका योजनाहरु अघि बढाउँदै सरकार अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलले बताउँदैगर्दा गण्डकी प्रदेश र पोखरा पर्यटनका लागि खुला रहेको सन्देश पु¥याउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेछ ।

नेपालको पर्यटनमा कुन देशको योगदान कति ?
दक्षिण कोरियाबाट बर्सेनि ४० हजारभन्दा बढी पर्यटन नेपाल आउँथे । कोरोना माहामारीले अहिले पर्यटको संख्या शून्यमा झरेको छ । राजदूत पार्कले आफ्ना देशवासीलाई नेपाल घुम्न आउन अनुरोध गर्ने बताएसँगै कोरियाली पर्यटकको आगमन सुरु हुने आँकलन गरिएको छ । १ महिना अघि मात्रै नेपाल आउनुभएका जर्मन राजदूत डा. प्रिन्ज पनि प्राकृतिक तथा सांस्कृतिक सुन्दरताको अवलोकन गर्न र नेपाली आतिथ्यता र आत्मियताका लागि नेपाल आउन देशवासीलाई आह्वान गर्ने बताउनुहुन्छ । यहाँबाट समेत बर्षेनी ३० औँ हजार पर्यटक नेपाल आउने गरेकोमा कोरोनापछि आगमन प्रभावित भएको छ ।

इजिप्टमा बर्सेनी ९० लाख देखि १ करोड ३० लाखसम्म पर्यटन घुम्न पुग्ने गरेको बताउने राजदुत अह्मेदले नेपालमा आफ्नो देशका पर्यटकको समेत आकर्षण बढाउने बताउनुभएको छ । नेपालमा पर्यटकको ठूलो हिस्सा भारतीय पर्यटकहरुको रहेपनि दक्षिण कोरिया, मलेसिया, म्यानमार, नेदरल्यण्ड, स्पेन, श्रीलंका, थाइल्याण्ड, अमेरिका, युके लगायतका देशबाट पनि पर्यटकको आगमनमा वर्षेनी बृद्धि भैरहेकोमा कोरोनापछि शून्य जस्तैछ ।

केही दिन पर्यटकिय नगरि पोखरामा रमाएका राजदूतहरुको टोली आज काठमाडौं फर्किएको छ । भ्रमणका क्रममा गरेको प्रतिवद्धता जस्तै नेपाल सुरक्षित रहेको सन्देश विश्वभर प्रवाह भएमा नेपालमा प्रभावित भएको १० लाख पर्यटनसँग जोडिएका नागरिकहरु विस्तारै पुरानै लयमा फर्किनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ