Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाको अवार्ड, बाख्रापालकदेखि वकिलसम्म सम्मानित ।

एनआरएनए अष्ट्रेलियाको अवार्ड, बाख्रापालकदेखि वकिलसम्म सम्मानित ।


ब्रिजवेन/गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले समाजमा उत्कृष्ट काम गरेको भन्दै कृषकदेखि कानुन व्यवसायीसम्मलाई सम्मान गरेको छ । दुइ वर्षमा बाडिने यस्तो अवार्ड शनिवार एनआरएनएको साधारण सभाको अवसर पारेर घोषणा गरिएको हो । एनआरएन अष्ट्रेलिया नेशनल एक्सिलेन्स अवार्ड कानुन व्यवसायी अधिवक्ता डाक्टर शम्सेर सिंह थापालाई प्रदान गरिएको छ । थापा अष्ट्रेलियामा नेपाली मूलका चिनिएका कानुन व्यवसायी हुनुहुन्छ । व्यवसायिक रुपमा निकै अगाडी रहनुभएका थापाले समुदायमा आइपर्दा निशुल्क कानुनी सहायता समेत प्रदान गर्दै आउनुभएको छ । त्यस्तै बिजनेस एक्सिलेन्सी अवार्ड भने न्यु साउथ वेल्सको ग्रामिण भेगमा बाख्रा पालन गर्ने कृषी व्यवसायी दिवस कार्कीलाई प्रदान गरिएको छ । कार्कीको बाख्रा फार्मले न्यु साउथ राज्यको ९० प्रतिशत बाख्राको मासुको बजार ओगटेको एनआरएनएले जनाएको छ । त्यस्तै त्यस्तै कार्कीले संचालन गरेको फार्मबाट कुइन्सल्याण्ड र क्यानबेरामा समेत मासु पुग्ने गरेको छ । २५ जना कर्मचारीसहित ४ वर्षमा कार्कीको व्यवसायले छलाङ मारेको छ ।

नेपलिज कल्चरल एम्बास्डर अफ द इयरको अवार्ड भने तास्मानियाका संगितकर्मी मित्र गुरुङले पाउनु भएको छ । नेपाली बालबालिकालाई नेपाली लोकबाजाको शिक्षा दिन सक्रिय मित्रले संगितकै माध्यमबाट नेपाली र स्थानिय समुदायलाई जोड्ने कार्य गर्दै आउनुभएको छ । तास्मानियामा पहिलो पटक पञ्चेबाजा भित्र्याउनु भएका मित्रले सारंगी, बासुरी र मादल लगायत नेपाली लोकबाजालाई तास्मानियको समुदायमा प्रचार गर्न महत्वपुर्ण भूमिका खेलिरहनु भएको छ ।
संचारकर्ममार्फत समाजमा योगदान दिएको भन्दै यसपाली मिडिया पर्सन अर्वाड नेपाली टाइम्स अष्ट्रेलियाका सुजित सिग्देललाई प्रदान गरिएको छ । विगत १८ वर्षदेखि संचार प्रत्यक्ष रुपमा सक्रिय रहेको सिग्देलले सन् २००८ मा अष्ट्रेलियामा नेपाली टाइम्स प्रशासन गर्न थाल्नु भएको हो । त्यस्तै एसबिएस रेडियो मार्फत नेपाली समुदायको आवाजलाई मुलधारमा पुर्याउन योगदान दिएको भन्दै पत्रकार रजिश अर्याललाई प्रेसिडेण्ड अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै अष्ट्रेलियाको नेपाली समुदायमा १५ वर्षदेखि समाजिक कार्यमा सक्रिय रहदै आउनुभएकी मेलवर्नकी दिपा राईलाई वुमन एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ । सामाजिक न्यायको क्षेत्रमा अग्रपंतिमा खटिने राई कोरोनाको समयमा समेत सहयोग संकलन गर्न महत्वपुर्ण भूमिका निभाउदै आएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

एक्सिलेन्स अर्गनाइजेसन अवार्ड गोरखा नेपलिज कम्युनिटी जिएनसीलाई प्रदान गरिएको छ । सन् १९९५ मा स्थापना भएको यो गैर नाफामुलक संस्था नेपाली समाजको पुरानो मध्येको एक संस्था हो । यस संस्थाले जिएनसी फुटवल प्रतियोगिता देखि लिएर नेपालबाट राष्ट्रिय कलाकार ल्याएर अष्ट्रेलियामा सांस्कृतिक कार्यक्रम समेत गर्दै आएको छ । कम्युनिटी सर्भिस अवार्ड निराजन गौलीलाई प्रदान गरिएको छ । सन् २०१२ देखि नै भिक्टोरियाको नेपाली समुदायमा सक्रिय गौलीले स्थानिय सरकारसंग मिलेर नेपालीका लागि मानसिक स्वास्थ्य, सडक सुरक्षा, समुन्द्री सुरक्षा जस्ता क्षेत्रमा ३५ भन्दा बढी कार्यशालाहरु ग्रिसक्नु भएको छ । त्यस्तै एनआरएनए अष्ट्रेलिया युथ एक्सीलेन्स अवार्ड अन्जना पन्त बराल र फ्रेण्डस् अफ नेपाल अवार्ड संयुक्त रुपमा ग्रेम केन्ट र काठमाडौं किड्सले पाएका छन् । तीन जनालाई प्रदान गरिने स्टेट पर्सन अवार्ड आशिष सापकोटा हरिभक्त अधिकारी, र सुयाना श्रेष्ठलाई प्रदान गरिएको छ । स्टुडेण्ट अफ द इयर (उच्च माध्यमिक तह) विशिका घिमिरे, स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी) इस्कोन ज्ञवाली र (१८ वर्षभन्दा माथी)को अवार्ड सञ्जिव खड्कालाई प्रदान गरिएको छ ।

एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनाले पाएका छन् । प्रकोप व्यवस्थापनमा महत्वपुर्ण खेलेको भन्दै डिजास्टर, एमेरजेन्सी एण्ड क्राइसिस मेनेजमेन्ट टाक्सफोर्सका ४ जना डा. भरतराज पौडेल, डा.रामकृष्ण निरौला, डा. राजु अधिकारी, बन्दीता मैनालीलाई यो अवार्ड प्रदान गरिएको हो । यो टिमले यसै वर्ष क्यानबेरामा प्रकोप व्यवस्थापन सम्बन्धी कार्यशाला गरेको थियो भने कोरोनाका कारण वर्तमान र भविष्यमा आउने सक्ने अवस्थाहरुका बारेमा विमर्श समेत गरिएको थियो । त्यस्तै किरण अधिकारी, लक्ष्मण श्रेष्ठ, प्रेमजंग थापा, प्रेरणा मल्ल, रजिश अर्याल, रोशन शेर्पा, यति एफ्सी भिआइसी र युवराज कँडेललाई पनि प्रेसिडेण्ड अवार्ड प्रदान गरिएको छ ।

कोरोना महामारीका बेला विशेष योगदान दिएबापत अष्ट्रेलियन नेपलिज कन्सल्टेन्टस एशोसिएसन (एका)लगायत पाँच जनालाई एआरएन प्रेसिडेन्टस् स्पेशल स्पेसल निकगनिसन अवार्ड प्रदान गरिएको छ । यो अवार्ड पाउनेहरुमा  भीएफएम, इन्फीनाइट एबिलिटी,असपाली, प्रेम गुरुङ र संजीता न्यौपाने बस्ताकोटी रहेका छन् ।  प्रत्येक दुई वर्षमा वितरण गरिने यो अवार्डका लागि विभिन्न १५ विधामा आवेदन माग गरिएको थियो । अवार्डलार्ई निष्पक्ष र सहि मूल्यांकन गर्न ३ महिलासहित १५ जनाको ‘टास्कफोर्स’ समेत गठन गरिएको थियो । प्रेसिडेण्ड अर्वाडबाहेक अन्य विधाका लागि मनोनयन तथा सिफारिस अनिवार्य गरिएको थियो । मनोनयनमा परेकाहरुको उपलब्ध सुचनाका आधारमा अवार्ड टिमले उपयुक्त व्यक्ति चयन गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ