Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख ५ खबर, पढ्न छुट्यो कि !

नेपाल अपडेट : यी हुन प्रमुख ५ खबर, पढ्न छुट्यो कि !


काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्तारुढ दलमा जुटेको सहमति, ३३ किलो सुन तस्करी प्रकरणको फैशला, सरकारी गाडीको विवरण खोज्न अर्थमन्त्रालयले देखाएको तदारुकता, ६ वर्षपछि पुनःघाटामा जान थालेको नेपा आयल निगम र चाडपर्वसँगै बजारमा बढेको भीडभाड र जोखिम बारेका प्रमुख पाँच खबर यस्ता छन् ।

बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने
सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी बीच पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको छ । कांग्रेसलाई ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपालाई ४÷४ वटा मन्त्रालयको भागबण्डामा सहमति जुटेको बताइएको छ । तीन दल कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले एक÷एक राज्यमन्त्री लिने र जसपालाई उपसभामुख दिने सहमति समेत गठबन्धन दलमा भएको छ । मंगलबार विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालय लिने भनेर अन्तिम रुप दिने र बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी रहेको बताइएको छ ।

साँढे ३३ किलो सुन तस्करी प्रकरणमा ६ जनाविरुद्ध जन्मकैदको फैशला
साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर हुँदा ४८ जनाले सफाइ पाएका छन् । यो घटनामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई मोरङ जिल्ला अदालतले तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाउँदा फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । २०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो भने घटनामा संलग्नताको आशंकामा केही प्रहरीअधिकारीसहित धैरै जना अनुसन्धानमा तानिएका थिए ।

पुराना सरकारी गाडी कति कुन अवस्थामा छन भन्ने विवरण माग्दै अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले सरकारी गाडी कहाँ, कति कुन अवस्थामा छन भन्ने एकिन गर्न भन्दै सबै मन्त्रालय र सरकारी निकायसँग विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिनुभयो । अर्थमन्त्री शर्माले नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको दाबी गर्दै सरकारी सम्पत्ति कति छ एकिन गर्न सरकारी गाडीको लिस्ट मागेको बताउनुभयो । नेपाल सरकारलाई कति गाडी चाहिने र त्यस अनुसार उपलब्ध भए–नभएको निश्चित भएपछि मात्र आवश्यकता देखिएमा नयाँ गाडी किन्ने स्विकृती दिने अर्थमन्त्रीको योजना रहेको छ । सरकारी निकायले भएका गाडी सिंहदरवारका मन्त्रालय, विभाग र कार्यालयमा थन्काएर नयाँ माग गर्ने प्रवृत्ति भने विगतदेखी नै ठूलो समस्या बन्दैआएको छ । अघिल्लो सरकारले नै सरकारी सवारी साधनको विवरण संकलन गर्ने बताए पनि काम अघि बढ्न सकेको थिएन् ।

६ वर्षपछि आयल निगम फेरी घाटामा
आर्थिक वर्ष २०७७/७८ को कारोबारले नेपाल आयल निगम ६ वर्षपछि घाटामा गएको देखाएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जानकारी दिएको हो । आर्थिक वर्ष २०७१÷७२ पछि निगम निरन्तर नाफामा चल्दैआएको थियो । आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले एक वर्षमा २९ हजार किलोलिटर पेट्रोलियम पदार्थको खरिद बिक्री भएको जानकारी दिनुभयो । यो कारोबारबाट सरकारलाई ९३ अर्ब रुपैयाँ कर बापतको रकम बुझाइएको बताइएको छ । गत आर्थिक वर्षको मध्यदेखि सुरु भएको घाटाको श्रृङ्खला नयाँ आर्थिक वर्षको तीन महिनासम्म पनि कायमै देखिएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको अनुमानित नोक्सानी ६ अर्ब रुपैयाँ भन्दा बढी पुगेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । भारतीय आयल निगमबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ९ र डिजेलमा ७ रुपैयाँ घाटा रहेको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५१५ रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । नयाँ आर्थिक वर्षको पहिलो महिना १ अर्ब ६० करोड रुपैयाँ घाटामा गएको निगमले भदौमा मात्रै २ अर्ब घाटा ब्यहोरेको छ । आर्थिक वर्ष २०७१÷७२ अघि निरन्तर पाँच वर्षसम्म घाटामा गएको निगम त्यसयताको ६ वर्ष भने नियमित नाफामा थियो ।

बजार क्षेत्रमा किनमेलको भीडभाड र जोखिम
नेपालका तीन ठूला पर्व दशैं, तिहार र छठ नजिकिँदै गर्दा काठमाडौंसहित देशका मुख्य बजार क्षेत्रमा अत्यधिक भीडभाड देखिन थालेको छ । केही दिनदेखी काठमाडौंको असन, इन्द्रचोक, महावौद्ध, न्युरोड क्षेत्रमा किनमेल गर्न जानेको घुइँचो नै लागेको छ । असन क्षेत्रको सडकमा ओहोर दोहोर गर्न पनि ठेलमठेल गर्नुपर्ने स्थिति छ । यस क्षेत्रमा लुगाफाटो, भाडावर्तन, इलेक्ट्रोनिक सामानलगायत दैनिक उपभोग र विलासिताका सबैजसो सामान पाइने भएकाले किनमेल गर्न काठमाडौंमा सर्वसाधारणको रोजाइमा पर्ने गरेको छ । यस्तै पश्चिम नेपालका शहरहरु चितवन, बुटवल, तराईका वीरगंज, जनकपुर, पूर्वी नेपालका इटहरी, विराटनगरसँगै ७८ वटै जिल्लाका बजार तथा व्यापारिक क्षेत्रमा किनमेलको भीडभाड बढ्दा कोरोना महामारिको जोखिम बढेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ