Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगानिस्तानको एक मस्जिदमा आत्मघाती बिस्फोट, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बिस्फोट, कम्तीमा ५० जनाको मृत्यु


एजेन्सी । अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो नै सबैभन्दा ठूलो आक्रमण हो ।

सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको छ । अल्पसंख्यक शिया मुसलमान समुदायको मस्जिदस्थित उत्तरी शहर कुन्दुजमा भएको आक्रमणमा परेर एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको स्विकार गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुन्नी मुसलमान अतिवादी समूहले शिया समुदायमाथि आक्रमण गर्दै आएको छ । इस्लामिक स्टेट (आइएस) को अफगानिस्तानको समूह आइएस–के ले तालिबान सत्ताको विरोध गर्दै आएको छ । शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु मस्जिदभित्र जम्मा भएका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको जनाइएको छ । स्थानीय सुरक्षा अधिकारीहरुले आक्रमण भएका बेला ३०० भन्दा बढी मानिस मस्जिदमा रहेको जानकारी दिदै मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

यो हप्ता अफगानिस्तानमा भएका तीन ठूला आक्रमण मध्ये शुक्रबारको आक्रमण भयानक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । आइतबार काबुलमा मस्जिद नजिकै भएको आक्रमणमा सातजनाको ज्यान गएको थियो भने बुधबार खोस्ट शहरमा रहेको मदर्सामा आक्रमण गरिएको थियो । तालिबानले अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएसँगै अगस्टको अन्तिममा अमेरिकी सैनिक स्वदेश फर्किएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ