Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalदसैंको तेस्रो दिन आज, नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरिँदै

दसैंको तेस्रो दिन आज, नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरिँदै


काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा दसैँको ९ दिनसम्म देवीका नौँ रुपको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको बताउनुहुन्छ । चन्द्रघण्टा देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास रहेको छ । वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको छ ।

चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने विश्वास रहिआएको छ । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । दोस्रो दिन शुक्रबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म हिन्दु नेपालीले बडादसैँ पर्व मनाउँनेगर्दछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिएको हो । अघिल्लो वर्ष कोरोना महामारिका कारण मठ मन्दिर बन्द रहेपनि यो वर्ष खुला गरिएको छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । आज शनिबारको सार्वजनिक बिदाको दिन भएकाले पनि शक्तिपीठमा विशेष भीड लागेको छ ।

कोरोना महामारी कम भए पनि जोखिम अन्त्य नभएकाले नेपालीले महान् चाडका रुपमा मनाउने बडादसैँमा विशेष सावधानी अपनाउन प्रशासनले आह्वान गर्दैआएको छ । शक्तिपीठमा जम्मा हुने भक्तजनले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका विधि अपनाएको देखिए पनि भौतिक दूरी भने कायम गरेका छैनन् । यसले फेरि कोरोना महामारी फैलने हो कि भन्ने चिन्ता बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ