Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी प्रमुख ५ खबर


काठमाडौं । नेपालमा आइतबार चर्चासँगै विभिन्न सञ्चारमाध्यममा प्राथमिकता पाएका प्रमुख ५ खबरहरु यस्ता छन् ।

नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी
नेकपा माओवादी केन्द्रले पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्ट रहेका नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । यसअघि प्रवास समन्वय विभागको जिम्मेवारी मात्रै दिइएका श्रेष्ठलाई माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नुअघि पनि श्रेष्ठ अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा हुनुहुन्थ्यो । उपप्रमुखमा सुरेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ । प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त छन् भने अध्यक्षमा यसअघि नै ओम शर्मा चयन भइसकेका छन् ।

६० प्रतिशतले घट्यो कोरोना संक्रमण
नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभएको हो । भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या घटेर १५ हजार ९४२ मा झरेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका मुख्य कारण कोरोना भाइरस विरुद्धको खोपको योगदानलाई मानिएको छ । नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्नु सङ्क्रमण घट्नुको अर्को कारण मानिएको छ । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ ।
पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ ।

अब दुई सिफ्टमा विकास निर्माण
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विकास निर्माणका कामको ठेक्का लगाउँदा नै कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताउनुभएको छ । बजेट कार्यान्वयनबारे राष्ट्रिय योजना आयोगसँग अर्थ मन्त्रालयले गरेको छलफल क्रममा मन्त्री शर्माले ठेक्कामा राखिने नयाँ सर्तबारे जानकारी गराउनुभएको हो । ‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ मन्त्री शर्माले बताउनुभयो । निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै मन्त्री शर्माले यसको अन्त्य गर्न कानुन सच्याउने तयारी भइरहेको बताउनुभयो ।

नियुक्तिको तीन दिन नबित्दै उद्योग मन्त्री हमालको राजीनामा
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले नियुक्तिको तीन दिन नपुग्दै राजीनामा दिनुभएको छ । शुक्रबार साँझ मन्त्री नियुक्त हुनुभएका हमालले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउनुभएको हो । राजीनामा स्वीकृत समेत तत्काल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भएपछि राजीनामा आएको हो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ । मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेको हमालले बताउनुभएको छ ।

बागमतीकी मुख्यमन्त्रीको शाक्यको पदको कार्तिक ४ मा छिनोफानो
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेश गर्नुभएको छ । प्रदेशमा सत्ता रुढ दल विभाजन भएमा संविधानको धारा १८८ (२) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार शाक्यले प्रस्ताव टेबुल गर्नुभएको हो । प्रस्तावमाथि कात्तिक ४ गते मतदान हुने गरी सभामुख सानुकुमार श्रेष्ठले बैठक बोलाउनुभएको छ । प्रदेशसभामा दल विभाजनको औपचारिक पत्र भदौ २५ गते पुगेको थियो । एकल बहुमत रहेको एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि मुख्यमन्त्री शाक्य अल्पमतसँगै विश्वासको मत लिने बाध्यतामा हुनुहुन्छ । ३० दिन (सोमबारसम्म) विश्वासको मत लिइसक्नुपर्ने भए पनि शाक्य नेतृत्वको एमाले सरकारले संविधानको गतल व्याख्या गर्दै प्रस्ताव मात्रै प्रस्तुत गरेको छ । बागमती प्रदेशसभाका कुल १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई विश्वासको मतका लागि ५५ सांसदको समर्थन चाहिन्छ । अहिले नेकपा एमालेसँग जम्मा ४३ सांसद मात्रै छन् । प्रदेशसभामा विपक्षी गठबन्धनमा रहेका कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन् । विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका दुई र एकजना स्वतन्त्र सांसद बागमती प्रदेशमा छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ