Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी मुख्य ५ खबर

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी मुख्य ५ खबर


काठमाडौं । आइतबार दिनभर नेपालमा विभिन्न घटनाक्रमहरु भए । दिनभर विभिन्न संञ्चारमाध्यममा प्राथमिकता पाएका प्रमुख ५ खबर यस्ता छन् ।

देशभरका दुर्घटनामा परेर ११ जनाको मृत्यु
देशका विभिन्न स्थानहरुमा भएका दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

हिरासतभित्र भएका मृत्युका घटनाको अनुसन्धान गर्न समिति
गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनामाथी अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका लागि सुझाव पेश गर्ने कार्यदेशसहित समिति गठन गरिएको हो । छानबिन समितिले असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति र असोज २६ मा जिल्ला कारागार पर्वतमा रहेका एक बन्दीले आत्महत्या गरेको घटनामाथी छानबिन गर्ने छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखरमा बस दुर्घटना हुँदा ३५ घाइते
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । ३१ ज्ना घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको आँकलन गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य अस्पताल भर्ना
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्वस्थ भएसँगै आइतबार नर्भिक अस्पताल भर्ना हुनुभएको छ । ७४ वर्षीय वैद्य लामो समयदेखि दमबाट पीडित हुनुहुन्थ्यो । आइतबार दम बढेपछि अस्पताल भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालले जानकारी दिएको छ ।

पत्रकार द्वारिका नेपालको मस्तिष्कघातबाट निधन
चितवनका क्रियाशिल पत्रकार द्वारिका नेपालको मस्तिष्कघातबाट निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत नेपालको आज बिहान पाँच बजेतिर निधन भएको पारिवारिक स्रोतले जनकारी दिएको हो । चितवनको भरतपुर–१० घर भएका नेपाललाई दशैंको फूलपातीको दिन चितवनबाट हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । ४७ वर्षीय नेपाल कालिका एफएम र कालिका टेलिभिजनमा कार्यरत थिए । दशैं मनाउन सपरिवार रौतहटस्थित पुरानो घर जाँदै गर्दा बाटैमा उनी अस्वस्थ भएका थिए । आफैंले कार चलाइरहेको बेला असजिलो भएको भन्दै गाडी रोकेर बाहिर निस्किएका बेला उनी लडेका थिए । पत्रकार नेपाल चितवनमा कुशल शिक्षक र साहित्यकारको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ