Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियामा खेल मैदानमै नेपाली खेलाडीको खुट्टा भाच्चियो । बिमा नहुदा समस्या

तास्मानियामा खेल मैदानमै नेपाली खेलाडीको खुट्टा भाच्चियो । बिमा नहुदा समस्या


सरल गुरुङ/तास्मानियाको होबार्टमा फुटवल खेल्ने क्रममा एक नेपाली युवकको खुट्टा भाचिएको छ । अगष्ट १० तारिखमा भएको दशैं कप प्रतियोगितामा मार्फा फुटवल क्लबका एक खेलाडीको खुट्टा भाचिएको हो । बल खोस्ने क्रममा प्रतिद्धन्दी खेलाडीको प्रहारबाट खुट्टा भाचिएको ती खेलाडीले नेपालट्युबलाई जानकारी दिनुभयो । ३२ वर्षीय ती खेलाडी होबार्टमा अध्ययनरत विद्यार्थी हुन् । परिवारको अर्को एक सदस्य पनि नेपालमा बिरामी परेकाले थप पीडा नहोस् भनेर ती खेलाडीले आफ्नो परिचय गोप्य राखिदिन हामीलाई आग्रह गर्नुभएको छ ।

ती खेलाडीको खुट्टामा अप्रेसन गरेर स्टिल हालिएको छ । चिकित्सकले कम्तिमा पनि ९ हप्ता घरमै आराम गर्नुपर्ने सुझाव दिएको छ । खुट्टा भाच्चिएपछि ती खेलाडीलाई अहिले आर्थिक संकट परेको छ । काम गर्दै पढ्नुपर्ने विद्यार्थीलाई महिनौसम्म घरमै बस्नुपर्ने भएपछि घरभाडा, खाना र कलेजको फि कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । ‘दशैंमा भाइचार बढाउनका लागि फुटवल खेल्न गएको थिए’- ती खेलाडीले भने-‘ तर खुट्टा नै भाचिएपछि अब के गर्ने भन्ने चिन्ताले सताएको छ ।’

नेपाली सोसाइटी अफ तास्मानिया नेष्टले गरेको फुटवलको आयोजना गरेको थियो । नेष्टले ती खेलाडीलाई उपचारका लागि अस्पताल पु¥याएको थियो । तत्काललाई नेष्टले २५० डलर सहयोग पनि गरेको छ । ती खेलाडीलाई सहयोग जुटाउन नेष्ट तयार रहेको र तिहारमा देउसी खेलेर उठेको रकम पनि उनलाई नै सहयोग गर्ने नेष्टका अध्यक्ष खगेन्द्र सत्यालले बताउनुभयो । त्यस्तै खुट्टा भाचिएको खेलाडीलाई आर्थिक सहयोग गर्न गैर आवासिय नेपाली संघ तास्मानिया पनि तातेको छ । संघले सार्वजनिक रुपमै अपिल गरेर ती खेलाडीलाई आर्थिक सहयोग जुटाउने भएको छ तास्मानियाका संयोजना राकेश शाक्यले जानकारी दिनुभयो । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने एनआरएनए तास्मानियाको तल रहेको बैंक खातामा पैसा जम्मा गर्नु सक्नुहुनेछ ।

ती खेलाडीले दिएको जानकारी अनुसार हालसम्म उनको खातामा २५ सय डलर सहयोग जुटिसकेको छ । केही चिनेजानेका तथा नेष्टका पदाधिकारीहरुले सकेको सहयोग गरेको पनि ती खेलाडीले बताए । तर, महिनौसम्म घरमा बस्नुपर्ने, काम गर्न नसक्ने तथा कलेजको फि पनि तिर्नुपर्ने भएकाले चिन्ता थपिएको ती खेलाडीले बताए । ९ हप्तापछि थप कति समय घरमै बस्नुपर्ने हो थाहा नभएकाले पनि चिन्ता थपिएको छ । तास्मानियाकी सामाजिक अभियन्ता पुनम पन्तले समाजका लागि खेल्न गएका खेलाडीलाई टुहुरो नबनाउन र सकेको सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

बिमा नहुदा समस्या

सार्वजनिक रुपमा गरिने प्रतियोगितामा खेल्ने खेलाडीहरुको बिमा नहुदा समस्या परेको छ । आयोजक नेष्टले खेल मैदानको बिमा गरेपनि खेलाडीहरुको बिमा पनि सम्बन्धित क्लबले नै गनुपर्ने सर्त रोखेको थियो । तर, मार्फा क्लबले खेलाडीको बिमा नगरेका कारण समस्या थप बढेको हो । खेलाडी विद्यार्थी भिषामा भएकाले त्यहि बिमाले उपचार खर्च व्यहोर्ने संभावना भएपनि बिमा नहुने खेलाडी घाइते भएमा समस्या हुन सक्छ । यस विषयमा अष्ट्रेलियन नेपलिज फुटवल एशोसियसन एन्फाका तास्मानिया संयोजक जगदीश खड्काले प्रतियोगिता भन्दा अघि नै सहभागी सबै खेलाडीहरुको बिमा अनिवार्य गर्नुपर्ने व्यवस्थ गर्न लागेको बताउनुभयो । आफु पनि सन् २०१३ मा फुटवल खेल्दा घाइते भएर खेल्न छोडेको अनुभव साट्दै खड्काले तास्मानियामा अनिवार्य बिमाको तयारी गर्दा गर्दै यो घटना हुन पुगेको दुखेसो गर्नुभयो ।

तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने एनआरएनए तास्मानियाको तल रहेको बैंक खातामा पैसा जम्मा गर्नु सक्नुहुनेछ ।
Account Name- NRNA Tasmania
BSB: 032-006
Account: 561-825

 


ट्याग : #Football, #Tasmania
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ