Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुदूरपश्चिमसँगै तराईमा भारी बर्षा : पहिरोले ३ जनाको मृत्यु, नदि तटिय क्षेत्रमा सयौँ फसे

सुदूरपश्चिमसँगै तराईमा भारी बर्षा : पहिरोले ३ जनाको मृत्यु, नदि तटिय क्षेत्रमा सयौँ फसे


सुदूरपश्चिम, काठमाडौं । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको हो । सञ्चार सम्पर्क विच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न कठिन भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल डुबानमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सेती पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । सेतीको बाढीले बझाङको बसपार्क नै बगाएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरिरहेको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ ।

निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको छ । धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको छ । यता, जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको हो । मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिएका छन् ।

नदीतटिय क्षेत्रमा फसे सयौँ नागरिक
भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । महाकालीमा जस्तै मोहन्यालको खिमडीमा पनि चार जन अलपत्र बनेका छन् । सेती नदीको टापुमा ५५ जना फसेको र उनीहरुको उद्धार गर्न हेलिकप्टर मगाइएको प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले जानकारी दिइन । सेती नदी तटीय क्षेत्र ढुंगाड पुरै जलमग्न भएर ९० भन्दा पनि बढी मानिसको ज्यान जोखिमा परेको बताइएको छ । उनीहरु नदीको टापुमा उद्धारको लागि गुहार मागिरहेका छन् ।

जनकपुर जलमग्न
विहानैदेखिको अविरल वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम समेत जलमग्न बनेको छ । सडकहरु जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको जानकारी दिए । मंगलबार यो वर्षमै सबभन्दा बढी वर्षा भएको बताइएको छ ।

डोटी र अछाममा पहिरोबाट तीन जनाको मृत्यु
डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको छ । डडेल्धुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा पुरिएर ज्यान गएको हो । यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी २ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयकाले जानकारी दिउको छ । का प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ