Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचितवनको सौराहामा पर्यटकको चहलपहल, होटल र पर्यटन व्यवसायी उत्साहित

चितवनको सौराहामा पर्यटकको चहलपहल, होटल र पर्यटन व्यवसायी उत्साहित


चितवन, काठमाडौं । दशैं विदाका कारण आन्तरिक पर्यटकको चहलपहल बढेसँगै चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । सौराहाका कतिपय होटल फूलपातीयता पूर्णिमासम्म नै पूर्णरुपमा बुकिङ भएका छन् । कतिपय भरिभराउ अवस्थामा छन् ।

दशैंको फूलपातीपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरुले बताएका छन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीका दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो भएको जानकारि दिनुभयो । दशैंमा सौराहाका होटलको अकुपेन्सी दर ६५ प्रतिशतभन्दा बढी देखिएको छ । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नपाएका आन्तरिक पर्यटक दशैंको बिदामा सौराहा पुगेका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटकहरुको उपस्थिति पनि देखिन थालेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराईले १० प्रतिशत हाराहारी भारतीय पर्यटक र केही तेस्रो मुलुकका पर्यटक समेत आएको जानकारि दिनुभयो ।

पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले फूलपातीदेखि सोमबारसम्म होटलका सबै कोठा बुक भएको जानकारी दिनुभयो यो होटलमाा ६५ कोठा छन् । सौराहाका पर्यटन व्यवसायीले विदेशी पर्यटकहरुको पनि बुकिङ्ग आउन थालेको जानकारी दिएका छन् । विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका कोरोनाका कारण रोकिएका कार्यक्रमहरु पनि गर्नुपर्ने भएकाले अब पर्यटकहरुको आकर्षण बढ्ने विश्वास यहाँका पर्यटन व्यवसायीले गरेका छन् । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले विगत वर्षको तुलनामा यस वर्ष दशैंमा सौराहाको पर्यटन व्यवसाय चलायमान भएको जानकारी दिनुभयो । अप्रत्यासित रुपमा पर्यटक सौराहा आएकाले व्यवस्थापन गर्नै कठिन भएको घिमेरेले बताउनुभयो ।

सौराहाका ११० पर्यटकीय होटलमा ५ हजार ५ सय बेड रहेका छन् । होटलहरुमा पर्यटक भरिएसँगै रेष्टुरेन्टहरु पनि पर्यटकले भरिभराउ हुने गर्दछन् । सौराहाको राप्ती किनारमा धेरै रेष्टुरेन्टहरु सञ्चालनमा छन् । यससँगै अन्य विभिन्न क्षेत्रमा पनि पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट बनाइएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले दशैंको टीकाको दिन राप्ती किनारमा एक हजारभन्दा बढी पर्यटक आएको जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिसमेत खुल्ला भएपछि सौराहामा पर्यटकहरु आउने क्रम बढ्न थालेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जले असोज दोस्रो सातादेखि निकुञ्जभित्र जिप सफारी समेत खुल्ला गरिसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ