Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी मुख्य ५ खबर

नेपाल अपडेट : पढ्न छुटाउनुभयो कि यी मुख्य ५ खबर


काठमाडौं । नेपालमा मंगलबार भिन्न घटनाक्रमहरु भए । राजनीतिदेखी सामाजिक गतिबिधी जारी रहँदा हामीले दिनभर विभिन्न सञ्चारमाध्यममा प्राथमिकता पाएका ५ खबरहरुलाई यहाँ प्रस्तुत गरेका छौँ ।

रुबी खानले तोडिन अनसन
सरकारसँग सहमति भएसँगै रुबी खानले अनसन तोडेकी छन् । बाँकेकी नन्कुन्नी धोबीको ‘हत्या’ र निर्मला कुर्मी ‘बेपत्ता’ प्रकरणको छानबिन गर्न सरकारले गृह मन्त्रालय सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेसँगै मंगलबार माइतीघर मण्डलामा खानले अनसन तोडेकी हुन् । समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्द शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहेका छन् । अधिकारकर्मी खानको नेतृत्वमा १६ जनाको टोलीले नेपालगञ्जदेखि काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो । असोज १ गते नेपालगञ्जबाट हिँडेका उनीहरु असोज २० गते काठमाडौँ आइपुगेका थिए ।

दसैंको अवधिमा दुर्घटनाबाट १६१ जनाको मृत्यु
दसैँको अवधिमा सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैँको घटस्थापनपछि कात्तिक १ गतेसम्म दुर्घटनाका कारण देशभर १ सय ६१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार फूलपातीको दिन मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिले संचालन गरेको भे.१ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडक खण्डको पिनातपने खोलामा पल्टेको थियो । दसैँको अवधिमै कास्कीमा जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना भएको थियो । सोही अवधिमा काठमाडौं उपत्यकामा दसैँ अवधिभरमा ३०८ वटा दुर्घटना भएका छन् । यी दुर्घटनामा परेर ३ जनाले ज्यान गुमाएका छन् ।

सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार पार्न कार्यदल
अर्थ मन्त्रालयले सार्वजनिक खरिद ऐन २०६३ सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न भन्दै कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयमा मङ्गलवार भएको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, वन, भूमि व्यवस्था मन्त्रालयलगायतका प्रतिनिधिहरू सदस्य रहनेछन् । कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासङ्घसहित विभिन्न निकाय तथा विज्ञबाट प्राप्त सुझावको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेस गर्ने बताइएको छ । मस्यौदामा सार्वजनिक निर्माणको लागि बोलपत्र पेस गर्ने साविकको समय घटाउने प्रस्ताव गरिएको छ ।

फुटबल खेलाडीलाई जनही ५ लाख
सरकारले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रति व्यक्ति तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको छ ।

कोरोनाले रोकिएको लाइसेन्स परीक्षा सुरु
वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा मंगलबारदेखी फेरि सुरु गरेको छ । कोरोनाको जोखिम बढेसँगै गएको वैशाख १५ गतेदेखि लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा रोकिएको थियो । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एक पटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भइ वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन गर्ने भनिएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको छ । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ