Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिका गोलीकाण्ड, पसल सञ्चालन गर्दै आएका एक नेपाली मारिए

अमेरिका गोलीकाण्ड, पसल सञ्चालन गर्दै आएका एक नेपाली मारिए


काठमाडौं, अमेरिका । अमेरिकाको मासाचुसेट्स राज्यको एक पसलमा भएको गोलीकाण्डमा पसल सञ्चालक एक नेपालीको मृत्यु भएको छ । गोली लागेर ५४ बर्षीय लालकिशोर महासेठको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको हो ।

महासेठ मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बसोबास गर्दै आउनुभएको थियो । महासेठका पत्नी, दुई छोरा र छोरी अमेरिकामै बसोबास गर्छन् । प्रहरीका अनुसार पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली हानेको थियो । फल रिभर प्रहरीले राति १०ः३० बजे उक्त पसलमा गोली चलेको खबर पाएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्गस्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा गोली चलेपछि ९११ मा प्रहरीलाई खबर आएको थियो ।

एम्बुलेन्सबाट चार्लटन मेमोरियल अस्पताल पुर्याइएका महासेठलाई उपचारका क्रममा अस्पतालले राति ११ बजे मृत घोषित गरेको थियो । घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको स्केच समेत सार्वजनिक गरेको छ । अपराधीले गाडा रंगको बस्त्र र खैरो रंगको पिठ्युमा भिर्ने झोला सहित खैरो नाइकी स्नीकर्स जुत्ता लगाएको पहिचान गरिएको छ ।

घटनाको मधेसी एसोसिएसन अफ अमेरिकाले निन्दा गर्दै वक्तव्य जारी गरेको छ । महासेठ मधेसी एसोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य हुनहुन्थ्यो । न्यू इङल्यान्ड शाखाका संस्थापक अध्यक्ष समेत रहनुभएका महासेठ सोही संस्थाका केन्द्रीय सल्लाहकार समिति सदस्य हुनुहुन्थ्यो ।

फोटोः मधेसी एसोसिएसन अफ अमेरिका



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ