Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बेमौसमी वर्षासँगै पहिरो र डुबान : ३० को मृत्यु, ३२ जना बेपत्ता

नेपालमा बेमौसमी वर्षासँगै पहिरो र डुबान : ३० को मृत्यु, ३२ जना बेपत्ता

देशका १९ जिल्ला प्रभावित


काठमाडौं । देशका विभिन्न जिल्लामा तीनदिनदेखी जारी रहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म ३० जनाको मृत्यु भएको हो ।

घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । मृतकको शव निकाल्ने प्रक्रिया थालिएको केन्द्रले बताएको छ । बैतडीकै सुर्नैया गाउँपालिका–५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रदेश १ का पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

प्रदेश १ को धनकुटास्थित चौविसे गाउँपालिका–१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले बताए । गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनको भनाइ छ ।

डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् । प्रहरीका अनुसार जोरायल गाउँपालिका–३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय उनको मृत्यु भएको छ । वडा नं. ४ मा शेरबहादुर विकसहित उनको परिवारका ४ जनाको मत्यु भएको प्रहरीले जनाएको छ । शिखर नगरपालिका–११ मा ३६ वर्षीया मन्धरा बलायर बाटोमा हिँडिरहँदा माथिबाट ढुंगासहितको पहिरो खसेको छ । घटनामा घाइते उनको उपचारका क्रममा मृत्यु भएको छ ।

सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु भएको छ । उनको घरमा दुई जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ । पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए । डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।

इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ । फाकथोक थुङ गाउँपालिका–१, ठिंगुरेमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सल्लेरीमा पहिरो जाँदा चार जना बेपत्ता छन् । पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार जारी छ । कुम्बाक गाउँपालिका–१, लाक्टोपामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । फिदिम–४, जोरसालमा पनि दुई जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपािलका–५ मा एक जनाको मृत्यु भएको छ । प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

उदयपुरमा बाढीले एक जना बगाएको छ । त्रियुगा नगरपालिका–५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार आएको बाढी, पहिरोमा ६ जनाको मृत्यु भएको गृह मन्त्रालयमा रिपोर्टिङ भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ