Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaहाइकिङमा रम्दै ब्रिजवेनका नेपाली, स्वास्थ्य पनि सद्भाव पनि

हाइकिङमा रम्दै ब्रिजवेनका नेपाली, स्वास्थ्य पनि सद्भाव पनि


सरल गुरुङ/ब्रिजवेन
ब्रिजवेनका ६४ वर्षिय राजन कोइराला हाफ कट्टु र स्पोस्र्ट जुत्ता लगाएर शनिवार बिहान झिसमिसेमै माउण्ट ग्राभाट फेदीमा पुग्नुहुन्छ । हरेक शनिवार बिहान माउण्ट ग्राभाटको फन्को लगाउन थालेको पनि ६ महिना बितिसकेछ कोइरालाले भन्नुभयो । शनिवार बिहानको दुइ घण्टे हाइकिङले आफ्नो शारिरीक मात्रै नभई मानसिक स्वास्थ्यमा नै सकारात्मक प्रभाव पर्न थालेको उहाँको अनुभव छ । कोइराला मात्रै होइन दुइ वर्षदेखि व्रिजबेनका ६० जना जति नेपाली महिला र पुरुषहरु हरेक शनिवार यो पहाडमा हाइकिङ गर्न पुग्ने गरेका छन् ।

हाइकिङको मेसो मिलाउने काम भने एभरेष्ट वारियरले गरेको हो । मार्कसंगै मिलेर सामाजिक अभियन्ताहरु केशव शर्मा र जिराज थापाले समेत हाइकिङको सहआयोजक भएर सहयोग गरिरहनु भएको छ । हाइकिङ गर्ने सक्रिय सदस्यहरु ६० जना भएपनि हरेक शनिवार कम्तिमा १० देखि १५ जनासम्म हाइकिङका लागि पुग्ने गरेको आयोजक मार्कले जानकारी दिनुभयो । आत्मबल बिकासका लागि हाइकिङ महत्वपुर्ण रहेको मार्कको भनाई छ ।

नेपालीहरु एक आपसमै मिलेर आयोजना भइरहेको यो हाइकिङलाई अघिल्लो महिनादेखि भने कुइन्सल्याण्डको हार्ट फाउण्डेसन र ब्रिजवेन सिटी काउन्सिलले समेत सहायता गर्न थालेको छ । फाउण्डेसनले हाइकिङका आयोजकको बिमा गरिदिने तथा हाइकिङमा सहभागीहरुको तथ्याकं राख्नका लागि अनलाईन पोर्टलको व्यवस्था गरिदिएको अर्यालले जानकारी दिनुभयो । त्यस्तै काउन्सिलले भने आफ्नो वेवसाइटमा हाइकिङको विवरण समावेश गरेको छ ।

स्वास्थ्य र सद्भाव संगसगै

अष्ट्रेलियाको जीवन तनावग्रस्त छ । विद्यार्थीकालमा पढाई र पिआरको चिन्ता त्यसपछि घरको मोर्गेज । काम, परिवार र घरजग्गाको किस्ताको हिसाब मिलाउदा मिलाउदै यहाँका अधिकांश नेपालीहरु मानसिक रुपमा विक्षिप्त बन्ने गरेका छन् । उमेरसंगै बढ्ने मोटोपन त रोगको ओडार नै भइहाल्यो । समयमै आफ्नो मानसिक र शारिरीक स्वास्थ्यको ख्याल नगर्दा जीवन नै अन्धकार समेत हुने गरेको छ । कम्तिमा हप्ताको एक दिन भएपनि प्रकृतिको काखमा केही घण्टा हिड्दा जीवनमा धेरै सुधार आउने हाइकिङका सहभागीहरुको अनुभव छ ।

तपाई पनि हाइकिङ गर्न चाहानुहुन्छ भने यो लिंकमा नाम दर्ता गराउन सक्नुहुन्छ ।

उकालोमा असिनपसिन भेटिनु भएकी मौसमी शर्मा एक वर्षदेखि हाइकिङ गर्न आइरहनु भएको रहेछ । ‘४० कटेसी त स्वास्थ्यको झन् ख्याल गर्नुपर्यो नि’- हिड्दा हिड्दै शर्माले -‘भन्नुभयो साथी भाईसंग कुराकानी गर्दै हिड्दा त मज्जा नै बेग्लै हुन्छ ।’ श्रीमान र छोराले हाइकिङ गरेको देखेर लोभिनु भएकी शर्माले अहिले त आफु शनिवार कहिले आउछ भनेर कुरेर बस्ने गरेको बताउनुभयो ।

हाइकिङमा भेटिनु भएकी मौसमी शर्मा, रोजनी ढकाल र स्मृति श्रेष्ठ Photo-Saral Gurung

शर्मासंगै हाइकिङ गरिरहनुभएकी रोजनी ढकाल र स्मृति श्रेष्ठको पनि अनुभव उस्तै छ । अन्य समयमा घर नजिकै हिडेपनि शनिवार बिहान भने साथी भाईसंग हाइकिङ गर्नुको अनुभव चाहि फरक रहेको श्रेष्ठको भनाई छ । हिड्ने, कुराकानी गरेर समाजिक सद्भाव बढ्ने भएकाले शनिवारको हाइकिङ आफ्ना लागि विशेष रहेको ढकालले बताउनुभयो ।

त्यस्तै एनआरएनए अभियन्ता अभिमानसिंह बस्नेत कोभिडका बेला त यस्तो सामाजिक हाइकिङको महत्व झनै बढेको बताउनुहुन्छ । उमेरसंगै बढ्ने मोटोपनलाई नियन्त्रण गर्न र हप्ताभरीको तनाव भुल्न आफु नियमित जसो नै हाइकिङमा जाने गरेको अभिमानको भनाई छ । शनिवारको हाइकिङ जानकै लागि शुक्रबार राति पार्टीमा गएकाहरुले समेत मदिरा सेवन गर्न छाडेको अभिमानको अनुभव छ ।

हाइकिङका आयोजक मध्येका एक केशव शर्माले हिड्नुका फाइदा बयान गरेरै नसकिने भएकाले सबै व्रिजवेनवासी यो हाइकिङमा जोडिन आग्रह गर्नुभयो । हाइकिङले सामाजिक अन्तरक्रिया र सद्भाव बढाउन मात्रै होइन स्वास्थ्यमा समेत सकारात्मक सुधार ल्याउने शर्माको भनाई छ । इच्छुक जो कोही पनि हाइकिङका लागि आउन सक्ने शर्माको भनाई छ ।

यसरी सुरु भयो एभरेष्ट वारियर

नेपालमा हाइकिङको राम्रै अनुभव संगाल्नु भएका मार्क अर्याललाई अष्ट्रेलियाका पहाड र जंगलका गोरेटोहरुले सधै तानिरहन्थ्यो । नयाँ नयाँ गन्तव्यमा टेकिरहने पैतला किन रोकिन्थ्यो र ? सन् २०१७ मा एक इन्डोनेसियन साथी लिएर मार्क न्यु साउथ वेल्सको माउण्ट वार्निङमा हाइकिङ गर्न जानुभयो । त्यसको लगत्तै दुइ नेपाली साथीसंग सनसाइनकोष्ट नजिकै रहेको माउण्ट कुरीमा मार्कले हाइकिङ गर्नुभयो ।

एक्लै भन्दा एउटा समुह बनाएर हाइकिङ गरेर सामुहिक रुपमै फाइदा लिनका लागि मार्कले एभरेष्ट वारियर भन्ने संस्था नै दर्ता गर्नुभयो । सन् २०१८ मा दर्ता भएको वारियरबाट व्रिजवेन आसपासका थुप्रै इलाकामा मार्कले नेपालीलाई हाइकिङ गराउनु भएको छ । हाइकिङ गर्ने स्थान शहरबाट टाढा भएकाले सहभागीहरुको संख्या बढ्न सकेको थिएन । सन् २०१९ मा स्थानिय पत्रकार किरण खनालसंगको सुझाव अनुसार शहरभित्र कै माउण्ट ग्राभाट पहाडमा हाइकिङ गर्न थालिएको मार्कको भनाई छ । त्यसपछि भने हाइकिङमा सहभागीहरुको संख्या बढ्न थालेको छ । हार्ट फाउण्डेसनसंग मिलेर हाइकिङ गर्दा त झनै लाभदायी भएको मार्कको अनुभव छ । हाइकिङमा सहभागीहरु बिहान ५ः२० मा तोकिएको स्थानमा पुग्नुपर्छ । त्यसपछि १० मिनेट वार्मअप गरेपछि टोली उकालो लाग्छन् । हाइकिङमा राजनैतिक, आरोप पत्यारोपका कुरा काट्न नपाइने कडा नियम राखिएको समेत मार्कले बताउनुभयो ।

तपाई पनि हाइकिङ गर्न चाहानुहुन्छ भने यो लिंकमा नाम दर्ता गराउन सक्नुहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ