Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली नायिकाहरुको छुट्टै व्यवसाय, घरजग्गा कारोबारदेखि रेस्टुरेन्टसम्म !

नेपाली नायिकाहरुको छुट्टै व्यवसाय, घरजग्गा कारोबारदेखि रेस्टुरेन्टसम्म !


काठमाडौं । सामान्य समयमा हिरो, हिरोइन, निर्माता, निर्देशक अनि गायन क्षेत्रका कयौँ सेलिब्रेटी फिल्म निर्माण, म्युजिक भिडियो लगायतका सुटिङमा व्यस्त हुन्थे । तर कोरोना महामारिसँगै धेरै कलाकर्मीहरु रेस्टुरेन्ट, व्यापार व्यवसाय, घरजग्गा कारोबार लगायतमा आबद्ध हुन थालेका छन् ।

यस्ता छन् नेपाली अभिनेत्रीका साइड बिजनेस

करिश्मा मानन्धर (अभिनेत्री) 
नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको छवि बनाउनुभएकी करिश्मा मानन्धरले केही अघि इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गर्नुभएको छ । रिसिक ट्रेडिङ कन्सर्नमार्फत मानन्धर हरेक परिवारका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउन व्यस्त हुनुहुन्छ । अभिनयको अलावा जीविकोपार्जनका लागि भन्दै पहिलो पटक इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा भित्र्याएर व्यवसाय थाल्नुभएकी अभिनेत्री मानन्धर व्यवसायमा हात हाले पनि अभिनयलाई निरन्तरता दिने मुडमा हुनुहुन्छ ।

दीपाश्री निरौला (अभिनेत्री, निर्देशक)
हिट फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशकसमेत बन्नुभएकी अभिनेत्री दीपाश्री निरौलाले पछिल्लो समय अभिनेता दीपकराज गिरीसँग मिलेर नयाँ बानेश्वरमा एउटा फिल्म हल सञ्चालनमा ल्याउँदैहुनुहुन्छ । यसका अलावा लाजिम्पाट र नयाँ बानेश्वरस्थित ‘चिया अड्डा’ मा पनि दिपाश्रीको सहकार्य रहेकोछ । कलाकारकर्मीका लागि वैकल्पिक आम्दानीको बाटो आवश्यक रहेकोले फिल्म निर्माण, अभिनय र निर्देशनका साथै व्यवसायमा समेत हात हालेको निरोलाको भनाई छ ।

खुस्बु खड्का (अभिनेत्री) 
केही समय यता अभिनयबाट टाढा रहेकी अभिनेत्री खुस्बु खड्का स्वास्थ्य सामग्रीको व्यवसायका अलावा ‘रियलस्टेट’ लगायतका काममा व्यस्त हुनुहुन्छ । कोरोना महामारीको समयमा विभिन्न स्थानमा मास्क र सेनिटाइजर निःशुल्क बाँड्नुभएकी खड्काले व्यवसायी तथा ठूलाबडाका लागि गुणस्तरीय मास्कको व्यवसाय नै थाल्नुभएको छ । फेरि लकडाउनको हल्ला चलेसँगै खड्का अहिले कोरियामा उत्पादन भएका मास्क नेपाल भित्र्याउने तरखरमा हुनुहुन्छ ।

शिल्पा मास्के (अभिनेत्री)
अभिनेत्री शिल्पा मास्के पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा आबद्ध हुनुहुन्छ । ललितपुरको कुपन्डोलमा ‘दुक्दोसारङ’ नाम गरेको रेस्टुरेन्ट सञ्चालित छ । हेमराज बिसी निर्देशित ‘ब्रेकअप’ बाट फिल्म अभिनयमा डेब्यु गनुभएकी मास्केले ‘कागजपत्र’मा समेत अभिनय गर्नुभएको थियो । रेस्टुरेन्ट व्यवसायको अलावा छोटा फिल्म, व्यावसायिक विज्ञापनमा व्यस्थ मास्के आफ्नै रुचिका कारण व्यवसायमा लागेको बताउनुहुन्छ ।

वर्षा सिवाकोटी (अभिनेत्री) 
अभिनेता राज कटुवालसँगको प्रेमका कारण चर्चामा आउनुभएकी वर्षा सिवाकोटी अहिले राजसँगै नै दुबई भ्रमणमा हुनुहुन्छ । पछिल्लो समय सौन्दर्य सम्बन्धी व्यवसायमा आबद्ध शिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओको रूपमा समेत कार्यरत छिन । छाला, कपाल तथा नङसँग सम्बन्धित काम गर्ने सिवाकोटी फिल्मको अलावा म्युजिक भिडियोमा समेत देखिँदै आउनुभएको छ ।

नम्रता श्रेष्ठ (अभिनेत्री)
थुप्रै हिट फिल्ममा अभियन गर्नुभएकी अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा आबद्ध हुनुहुन्छ । ज्ञानेश्वरमा ‘एटिक’ रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको अभिनेत्री श्रेष्ठले पहिले ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेस्टुरेन्ट सञ्चालन गर्नुभएको थियो । ‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गर्नुभएकी नम्रता पछिल्लो समय निर्माताको रूपमा समेत परिचित हुनुहुन्छ । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गर्नुभएकी श्रेष्ठ लभस्टोरी फिल्ममा भने राम्रोसँग जम्दै आउनुभएको छ । श्रेष्ठले फिल्म ‘सोल सिस्टर’ र ‘जाइरा’ आफैले निर्देशन गर्नुभएको थियो ।

केकी अधिकारी (अभिनेत्री) 
अभिनेत्री केकी अधिकारी पनि कलाकारिताको अलावा टेलिभिजन कार्यक्रम निर्माणमा व्यस्त हुनुहुन्छ । बहुचर्चित टेलिभिजन रियालटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रुपमा केकी सक्रिय छिन् । पछिल्लो समय दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’को अभिनय सकाउनुभएकी केकी अभिनेत्री, मोडलको अलावा फिल्म निर्माताको रूपमा पनि परिचित हुनुहुन्छ ।

श्वेता खड्का (अभिनेत्री) 
अभिनेत्री श्वेता खड्का पनि कलाकारिताको अलावा बिजनेशमै व्यस्त हुनुहुन्छ । दरबारमार्गस्थित राइजिङ मलमा खड्काको ‘हिमालयन जाबा’ नामक रेस्टुरेन्ट छ । अभिनेत्री खड्काको अर्काे पेसा इन्टिरियल डिजाइनिङ पनि हो । ‘अल्टिमोडिल’ भन्ने अनलाइन व्यवसाय, पुतलीसडकस्थित स्टरमलमा ‘ट्रिकी एण्ड पिंक्सी’ भन्ने एक ट्रेनिङ सेन्टर, फिल्म निर्माणमा समेत खड्काको व्यस्तता देखिने गरेको छ ।

भावना गुरुङ (अभिनेत्री) 
अभिनेत्री भावना गुरुङ पछिल्लो समय घरजग्गा कारोबारमा व्यस्त हुनुहुन्छ । ‘स्वर्ग मेरो गाउँ’, ‘भुलिगए पाप लाग्ला’ जस्ता नेपाली चलचित्र र गुरुङ भाषाका केही फिल्ममा अभिनय गर्नुभएकी गुरुङले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । दर्जनौं फेसन शो र विज्ञापन अभिनयपछि फिल्म अभिनयमा भित्रिनुभएकी गुरुङ नाम र चर्चाका लागि अभिनय र बाँच्नका लागि बिजनेस गरेको बताउँनुहुन्छ ।

वर्षा राउत (अभिनेत्री)
अभिनेत्री वर्षा राउत पनि व्यवसायमा आबद्ध हुनुहुन्छ । वर्षाले दीपकराज गिरी, दीपाश्री निरौला र संजोग कोइरालासँगको सहकार्यमा लाजिम्पाटमा ‘चिया अड्डा’ नामक कफी सप सञ्चालन गरिरहनुभएको छ । सन् २०१८ मा नयाँ बानेश्वरस्थित शंखमूल जाने बाटोमा खुलेको ‘चिया अड्डा’ अहिले बन्द गरेर लाजिम्पाटमा र बानेश्वरको पानी ट्याङ्की नजिकै सुरु गरिएको छ । वर्षा दरबारमार्गमा रहेको ‘गेजु’ चाइनिज रेष्टुरेन्टमा समेत आबद्ध हुनुहुन्छ । काम, टाइम पास र आम्दानी पनि हुने उद्देश्यले ‘चिया अड्डा’ लगायतमा आबद्ध भएको राउत बताउनुहुन्छ ।

पवित्रा आचार्य (अभिनेत्री) 
अभिनेत्री पवित्रा आचार्य पनि बुटिक तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध हुनुहुन्छ । धेरै पहिलेदेखि पार्टनरसिपमा रेस्टुरेन्ट चलाउँदै आउनुभएकी आचार्यले बुटिक भने कोरोना महामारीपछि सुरु गर्नुभएको हो । ‘नित्या बुटिक’ मार्फत आचार्यले अनलाइन कारोबार समेत गरिरहनुभएको छ । कलाकारितामा सधैँ एकनास काम र आम्दानी नहुने भएकाले रेगुलर आम्दानीका लागि व्यवसायमा आबद्ध भएको दाबी गर्ने आचार्य फिल्म, म्युजिक भिडियो अभिनयको अलावा कोरियोग्राफीमा समेत उत्तिकै व्यस्त हुनुहुन्छ ।

Photo: Ratopati



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ