अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यले विदेशी विद्यार्थीलाई आउन दिने
ब्रिजबेन । कोरोना विरुद्धको खोप लगाउनेको संख्या बढेसँगै अष्ट्रेलियाको तेश्रो ठूलो राज्य क्वीन्सल्याण्डले छिट्टै विदेशी विद्यार्थीलाई आउन दिने घोषणा गरेको छ । मंगलबार विहान क्वीन्सल्याण्डकी प्रिमियर एनेस्तेसिया प्यालासेले सन् २०२२ मा अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो राज्यमा पुन आउन दिने घोषणा गर्नुभएको हो ।
सन् २०२२ को ठ्याक्कै मिति घोषणा नगरेपनि क्वीन्सल्याण्डको ग्रामिण भेग वेल क्याम्पस्थित क्वारेन्टिन स्थलको प्रयोग गर्ने पहिलो अन्तर्राष्ट्रिय विद्यार्थी हुने बताइएको छ ।
प्राथामिकतामा परेका विद्यार्थी र सर्तहरु
मेडिकल र नर्सिङ सेवा पढ्नेहरु पहिलो प्राथमिकतामा राखिएका छन् । आउने विद्यार्थीहरुले कोरोनाको पुरै खोप लगाएको हुनुपर्ने छ भने क्विन्सल्याण्ड आइसकेपछि समेत राज्य सरकारले तोके बमोजिम क्वारेन्टिन बस्नुपर्नेछ । कुन खोप लगाएको हुनुपर्ने भन्ने बारे भने केही पनि खुलाइएको छैन ।
अन्तर्राष्ट्रिय विद्यार्थीले क्विन्सल्याण्डको अर्थतन्त्रमा ५.८ बिलियन डलरको योगदान गर्दै आएका छन् । प्रिमियर प्यालासेले यस कदमले क्विन्सल्याण्ड राज्यको अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रलाई सुधार गर्ने बताउनुभयो । यसअघि दुबै भ्याक्सिन लगाउनेको संख्या ७० प्रतिशत कटेपछि न्यु साउथ वेल्स राज्य र भिक्टोरिया राज्यले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई आउन दिने घोषणा गरेका छन् । अष्ट्रेलियाको संघीय सरकारले सिंगो राज्यभर नै अन्तर्राष्ट्रिय बोर्डर खोल्न चार तहको मार्गचित्र सार्वजनिक गरेको छ । जसमा दुबै खोप लगाउनेको संख्या ७० प्रतिशत र ८० प्रतिशत पुगेपछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आउन दिने भनिएको छ ।
अष्ट्रेलियाभर १६ वर्ष माथिका दुबै भ्याक्सिन लगाएकाहरुको संख्या ७३ दशमलब ४ प्रतिशत पुगेको छ । अक्टोबर २५ सम्म क्विन्सल्यण्ड राज्यमा ६० दशमलब ७ प्रतिशतले दुबै भ्याक्सिन लगाएका छन् । न्यु साउथ वेल्समा ८५ प्रतिशत प्रतिशत र भिक्टोरिया राज्यमा ७४ दशमलब ७ प्रतिशत वयस्कहरुले कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएका छन् । अष्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीहरुको समेत ठूलो हिस्सा रहेकाले तीनवटा राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुला गर्दा नेपाली विद्यार्थीहरु समेत लाभान्वित हुने आशा गरिएको छ ।
तपाईको प्रतिक्रिया