Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी खबरहरु पढ्न छुटाउनुभयो कि ?

नेपाल अपडेट : यी खबरहरु पढ्न छुटाउनुभयो कि ?


काठमाडौं । एमाले बैठक र महाधिवेशनको तयारीसँगै नेताहरुबीचको वाकयुद्ध, पेट्रोलियम पदार्थको मुल्यबृद्धि, बार र बेञ्चको लफडा, संघीय संसदको अधिवेशन अन्त्यसँगै एमाले सबै प्रदेशबाट सत्ताच्युत हुँदैगरेको बारेका प्रमुख ५ खबर यस्ता छन् ।

बढ्यो पेट्रोलियम पदार्थको मुुल्य
नेपाल आयल निगमनले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले मुल्य बढ्ने छ । आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढाइएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य समेत ५० रुपैँया बढाइएको छ । नेपाल आयल निगमले घाटा व्यवस्थापनका नाममा स्वचालित मुल्य प्रणाली लागु गरेर बारम्बार पेट्रोलियम पदार्थको मुल्य बढाउँदा अन्तर्राष्ट्रि बजारमा घट्दा पनि मुल्य घटाएको छैन ।

प्रधानन्याधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको छ । बार कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको हो । बारले आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने निर्णय गरेको छ । यता, न्यायाधीशले इजलाश वहिस्कार गर्दा सेवाग्राहीहरु मरमा परेको भन्दै मुद्दा हेर्न परमादेश जारीको माग गरेर सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता स्वागत नेपाल, कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गरेका हुन ।

संसद अधिवेश अन्त्य
संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य गरिएको छ । मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक समेत अन्त्य भएको जानकारी दिएका छन् ।

एमाले बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भनाभन
शुक्रबारको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ । अध्यक्ष ओलीले शुक्रबार रुष्ट रहेका प्रभु साहलाई मनाउन उनी निकट दुईजनालाई केन्द्रीय सदस्यको सपथ गराएपछि उपाध्यक्ष रावलले त्यसको विरोध गरे । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने जिकिर प्रस्तुत गरिरहँदा बैठकमा अध्यक्ष ओलीले १० बुँदेको औचित्य समाप्त भइसकेको जवाफ फर्काए । दुई नेताबीच लामो समय भनाभन जारी रहेपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुले तिक्ततापूर्ण माहौँललाई शान्त बनाएका थिए । बैठकमा अध्यक्ष ओली उपमहासचिब घनश्याम भुसालविरुद्ध पनि खनिए । भुसालले अध्यक्ष ओलीलाई चिठि लेखेको बारे प्रतिक्रिया दिएका उनले चिठि लेख्न आवश्यक नभएको र सो चिठिको जवाफ दिन पनि आवश्यक नभएको बताएका थिए ।

एमाले संघ र प्रदेश सबैतिर सत्ताच्युत हुँदै
कुनै बेला दुई नम्बर प्रदेश बाहेक बाँकी ६ वटै प्रदेशसँगै संघीय सत्तामा समेत राज गरेको नेकपा एमालेले अहिले सबै सत्ताबाट विमुख बन्नु पर्ने अवस्थामा पुगेको छ । दुई दुई पटक प्रतिनिधि सभाको असफल विघटन गर्दा समेत दम्भमा कमी ल्याउन नसकेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यही कारण संघीय सत्ताबाट बाहिरिनु पर्यो । अहिले उनको हातबाट सारा प्रदेशको सत्ता समेत टाढा हुँदैछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सत्ताबाट बाहिरि सकेको एमाले अब १ नम्बर प्रदेशमा समेत सत्ताबाट विमुख हुँदैछ । मुख्यमन्त्री बन्नका लागि अन्तिम समयमा माधव नेपालको साथ छाडेकी अष्टलक्ष्मी शाक्य सत्ताबाट बाहिरिसकेकी छन् । अव भीम आचार्यले पनि प्रदेश १ को मुख्यमन्त्री छाड्ने बेला आइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ