Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsऐतिहासिक धरोहर दरवार हाई स्कूलमा कस्ले चलाउँदैछ पार्किङको धन्दा ?

ऐतिहासिक धरोहर दरवार हाई स्कूलमा कस्ले चलाउँदैछ पार्किङको धन्दा ?


काठमाडौं । चीन सरकारको अनुदानमा बनेको काठमाडौंको वडा नम्बर २७ स्थित दरबार हाई स्कूल यतिबेला पार्किङस्थलमा परिणत भएको छ । विदेशी अनुदानमा चिटिक्क बनाइएको दरबार हाई स्कूलमा मोटरसाइकलको चाङ नै देख्दा सबै आश्चर्यमा परिरहेका छन् । सुनदेखि नुनसम्म पाइने असन, इन्द्रचोकमा तिहारसँगै बढ्ने भिडभाडलाई मध्यनजर गर्दै कार्तिक १४ गतेदेखि २० गतेसम्म विद्यालय प्रांगणलाई मोटरसाइकल पार्किङस्थल बनाउने निर्णय गर्ने को हुन ?

हामी यहि बुझन बुधबार दरबार हाइस्कुल पुग्यौं । निशुल्क भनिएको पार्किङमा असन कमलासी टोल सुधार समिति नामक संस्थाले प्रतिघण्टा २० रुपैयाँका दरले भटाभट शुल्क उठाइरहेको छ, जुन तथ्य हामीले फेला पारेका छौँ । अहिले विद्यालय समेत आफूले २० हजार पाउनुपर्ने दाबी गरिरहेको छ । विद्यालयले समेत आफूले २० हजार पाउनुपर्ने दाबी गरेपछि प्रधानाध्यापक शारदा कुमारी पौडेलले शुल्क उठाउने सहमति पत्रमा हस्ताक्षर गरेकी छन्, यो हेरौँ ।

विद्यालयलाई पार्किङस्थल बनाउन मिल्छ ? सडक बेचेर खाने महानगर ऐतिहासिक विद्यालयको प्रांगण बेच्न उद्धत भएको हो त ? हामीले यसको तथ्य खोज्ने प्रयास गरेका छौँ ।

चीन सरकारले निर्माण गरिदिएको भवनमा हाल दुईवटा विद्यालय सञ्चालनमा रहेका छन् । एउटा भानु मावि र अर्को संस्कृत मावि । कार्तिक १२ गते बसेको सर्वदलिय बैठकमा भानु माविका प्रअ शारदा पौडेल सहभागि भएपनि सस्कृत माविका प्रअ शिवराज अधिकारीलाई सहभागि गराईएको थिएन । विद्यालयका प्रअ पौडलले सर्वदलीय बैठकमा तिहारलाई लक्षित गदै असन इन्द्रचोक क्षेत्रमा किनमेलमा आउने नागरिकलाई निशुल्क पार्किङ सञ्चालन गर्न सहमति दिएका थिए । तर अहिले निशूल्क नभएर सशुल्क पार्किङ भैरहेको छ । विद्यालय प्रशासन र महानगरका सरोकारवाला पक्षसँग भएको के हो भन्ने बारे हामीले जवाफ मागेका छौँ ।

भानु माविका प्रअ शारदा पौडेलले के भनिन ?
पार्किङ शुल्क उठाएको आफुहरुले थाहा पाएपछि सबैलाई बैठकमा बोलाएर छलफल गरेर त्यसको विरोध गरेको नाटक मञ्चन गदैछिन प्रअ पौडेल । हामीले लामो केरकार गरेपछि स्थानीयसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेकाले आफुहरुले पनि पाकिङबाट उठेको रकममा दाबी गरेको पौडेलले बताइन् । पार्किङ वापत २० हजार रुपैयाँ दिने सहमति गरेको उनले स्वीकार गरिन । महानगरको शिक्षा शाखालाई भने यस बारे कुनै जानकारी नभएको र सर सल्लाह नगरिएको समेत प्रधानाध्यापक पौडेलले स्विकार गरिन् ।

संस्कृत माविका प्रअ शिवराज अधिकारीको भनाई :
यता, संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारी भने आफुलाई बैठक र पार्किङ बारे कुनै जानकारी नभएको बताउँछन् । यो निर्णय कसरी भयो भन्ने बारे आफु नै अनविज्ञ रहेको बताउछन् प्रअ अधिकारी । विद्यालयमा आउँदा अकस्मात पार्किङ गरिरहेको र शुल्क उठाएको देखिपछि आश्चर्यचकित भएको प्रअ अधिकारी बताउँछन् । भानु माविका प्रअ पौडेलसँग बुझेपछि मात्र आफुलाई पार्किङको निर्णय बारे जानकारी भएको बताउने अधिकारीले आगामी दिनमा दुवै विद्यालयको सहमती र विद्यालय ब्यवस्थापन समितिको बैठक विना यस्ता कार्यहरु गर्न नदिने जिकिर गरे । उनले हाल भएको मनोमानीको समेत विरोध गरे ।

महानगर शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीको भनाई :
दरबार हाई स्कूलको पार्किङ बारे बुझ्न हामी कामनपा महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीसम्म पुगेका छौँ । हामीले पार्किङ बारे जानकारी गराएपछि मात्रै उनले विद्यालयसँग यसबारे अनौपचारिक जानकारी लिएका थिए । शाखा प्रमुख सुवेदीले विद्यालय विदा भएकाले सुरक्षा निकाय, वडा र विद्यालयबीचको छलफलले तिहारमा हुने भीडभाड व्यवस्थापनका लागि पार्किङ सञ्चालन गर्न दिइएको जवाफ लिए । महानगरका शिक्षा शाखा प्रमुखको यो जवाफ सुन्दै गैह्र जिम्मेवार थियो ।

वडा नम्बर २७ का वडा अध्यक्ष चिनियामान बज्रचार्यको भनाई :
कामनपा वडा नम्बर २७ मा सञ्चालित दरवार हाई स्कूलमा भइरहेको पार्किङ धन्दा बारे वडा अध्यक्ष चिनियामान महर्जन आफुहरुले निशुल्क पार्किङको सहमति दिएको बताउँछन् । स–शुल्क पार्किङका लागि अनुमती नदिएको वडा अध्यक्षले बताएपनि पार्किङमा धमाधम शुल्क लिइदैछ । बैठकमा काठमाडौं महानगरका महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगर प्रहरी परिचालन गरेर ब्यवस्थापन गर्ने बताएपनि उपभोक्तासँग रकम उठाउने गरेको गुनासो आएको भन्दै वडा अध्यक्ष बज्राचार्यले त हामीमार्फत माफि मागेका छन् ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य के भन्छन त ?
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समेत आफुहरुले तिहार लक्षित गरेर खुल्ला मञ्च समेत खुल्ला गरेको र जहाँ जहाँ भिडभाड हुन्छ त्यहाँ पार्किङ लगायतको व्यवस्थापन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएको जानकारी दिए । यसरी उपभोक्तालाई लक्षित गरेर सञ्चालनमा ल्याइएका पार्किङ स्थलहरुमा शुल्क लिन भने अनुमति नदिएको भन्दै मेयर शाक्य मनलाग्दी रोक्नुपर्ने दायित्वबाट पन्छिए ।

ऐतिहासिक धरोहर दरबार हाई स्कूल परिसरलाई पार्किङमा परिणत गराउनेहरु सबै तै चुप मै चुप छन् । एकले अर्कोमाथी गल्ती थोपरेर पन्छिने काम मात्र भैरहेको छ । सडकदेखी विद्यालयको प्रांगणलाई समेत पार्किङस्थल बनाएर पैसा उठाएर लुट्न पल्केकाहरुमाथि के कारवाही होला ? महानगरको नगर प्रहरी किन गैरजिम्मेवार बन्यो । जहाँ पनि लुट्नै पल्केकाहरुलाई आखिर कसले खबरदारी गर्ने ? विद्यालयको प्रांगणमा धमाधम पैसा उठाएर पार्किङ गर्नेलाई सबैतिरबाट मिलेको छुटले कमिसनखोरहरुको मिलेमतो छैन् भनेर कसरी बिश्वास गर्ने ? यो प्रश्न काठमाडौं महानगरमाथी ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ