Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतिहारको चौथो दिन : गाई, गोरु र गोवर्द्धनको पूजासँगै नेवार समुदायले आजै म्हः पुजा गर्दै

तिहारको चौथो दिन : गाई, गोरु र गोवर्द्धनको पूजासँगै नेवार समुदायले आजै म्हः पुजा गर्दै


काठमाडौं । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि अनुसार आज गाई, गोरु र गोवर्द्धनको पूजा गर्ने गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्यु पछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाउने गरिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने बताइन्छ ।

यस्तै, प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज नेवारी समूदायले देशभर विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् । नेवार समुदायले आजै म्हः (आत्म) पूजा समेत गर्दैछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वासका आधारमा आत्म पूजा गर्ने परम्परा नेवारी समूदायमा रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ