Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल भित्रिने रेमिट्यान्समा सात दशमलव ६ प्रतिशतको गिरावट

नेपाल भित्रिने रेमिट्यान्समा सात दशमलव ६ प्रतिशतको गिरावट


काठमाडौं । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनाको रेमिट्यान्समा सात दशमलव ६ प्रतिशतको गिरावट आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले साउनदेखि असोजसम्म नेपाल भित्रिने गरेको रेमिट्यान्स सात दशमलव ६ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको देखाएको हो ।

अघिल्लो वर्षको यो अवधिमा रेमिट्यान्स १२ दशमलव सात प्रतिशतले बढेको थियो । तीन महिनाको अवधिमा अमेरिकी डलरमा प्राप्त रेमिट्यान्स समेत सात दशमलव सात प्रतिशतले घटेको पाइएको छ । तीन महिने समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने उल्लेख्य बृद्धि भएको छ ।

व्यापार घाटामा उच्च बृद्धि
यता, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ५८ दशमलव तीन प्रतिशतले बढेको छ । निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले बढ्दासमेत व्यापार घाटा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन, भदौ र असोजको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार व्यापार घाटा बढेर चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । साउनदेखि असोजसम्मको तीन महिने अवधीमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ अघिल्लो वर्षको यो अवधिमा व्यापार घाटा १५ दशमलव एक प्रतिशतले घटेको थियो ।

यस्तो छ निर्यात र विदेशी मुद्रा सञ्चितिको अवस्था
समीक्षा अवधिमा देशबाट ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोज तीन महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति घटेर १३ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी मुद्राको सञ्चिति समीक्षा अवधिमा पाँच दशमलव सात प्रतिशतले घटेर १३ खर्ब १९ अर्ब ३२ करोडमा झरेको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ