Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालसँग ओमान ७ विकेटले पराजित

आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालसँग ओमान ७ विकेटले पराजित


काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ । अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमै मात्रै तीन विकेट गुमाएर भेट्यायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाउँदा आसिफ शेखले ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए । टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजको खेलमा पहिलो एकदिवसीय विकेट लिए ।

जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । नेपालसँग पराजित ओमान १३ खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान पाउने छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ