Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsतमु समाज सिड्नीले पायो नयाँ टिम । इतिहास रच्ने अवसर

तमु समाज सिड्नीले पायो नयाँ टिम । इतिहास रच्ने अवसर


सिड्नी
अष्ट्रेलियाको सबैभन्दा पुरानो समाजिक संस्था तमु समाज सिड्नीको नयाँ कार्यसमिति दिनेश गुरुङको नेतृत्वमा गठन भएको छ ।
समाजको गत शनिवार बसेको साधारण सभाले पुर्व उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

२५ सदस्यीय कार्यसमितिको दुइ उपाध्यक्षमा भोज गुरुङ र जीवन गुरुङ चुनिनु भएको छ । त्यस्तै महासचिवमा अर्जुन गुरुङ छानिनु भएको छ भने सचिवको जिम्मेवारी हेउपति गुरुङले पाउनु भएको छ । कोषाध्यक्षमा डा.समिता गुरुङ चुनिएका छन् भने सांस्कृतिक संयोजकमा भिमसम्सेर गुरुङ र महिला संयोजकमा शीला गुरुङ दोहोरिका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष टंक गुरुङले खादा लगाएर स्वागत तथा शुभकामना दिएका थिए ।
तमु समाज सिड्नीको अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएपछि नेपाल ट्युबसंग कुरा गर्दै दिनेश गुरुङले अग्रज र नयाँ दुबै तप्काका गुरुङहरुलाई एउटै शुत्रमा बाधेर अघि बढाउने बाचा गर्नु भयो । ‘यत्रो पुरानो र गर्विलो इतिहास बोकेको संस्थाको जिम्मेवारी आफ्नो काँधमा आउदा खुसी नलाग्ने कुरै भएन’- अध्यक्ष गुरुङले भने -‘यो जिम्मेवारीलाई पुरा गर्न दिनरात एक गरी काम गर्नेछु ।’

चुनौति र अवसर

सन् १९९६ मा गठन भएको तमु समाज सिड्नी अष्ट्रेलियाको सबैभन्दा पुरानो संस्था मध्येको एक हो । न्यु साउथ वेल्स राज्यमा मात्रै हाल ९६ वटा सामाजिक संघसंस्था दर्ता भएको तथ्याकं छ । यत्ति धेरै सामाजिक संस्थाको भीडमा तमु समाजलाई शसक्त उभ्याउनु यो कार्यसमितिको सबैभन्दा ठुलो चुनौती हुनेछ ।
तमु समाज सिड्नीले सामुदायिक भवन निर्माण गर्ने छलफल चलाएको वर्षौ भइसकेको छ । यसअघिको कार्यसमितिले यसलाई मुर्तरुप दिन नखोजेको पनि होइन । तर, केही समाजका अगुवाहरुलाई साथमा लिन नसक्दा भवन निर्माणको काम रोकिएको छ । ‘पब्लिक सेयरका’ रुपमा भवन बनाउने कि ‘च्यारिटी’ गरेर भन्ने विषयमा एकरुपता नआउदा समस्या आएको हो ।

सिड्नीका गुरुङले ‘अरुलाई सम्मान हाम्राे पहिचान’ भन्दै ल्हाेछार मनाउँदै ।

गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सका संयोजक तथा तमु समाजका अगुवा देव गुरुङ सामुदायिक भवन नया कार्यसमितिका लागि अवसर र चुनौति दुबै देख्छन् । ‘सन् २०२० सम्म भवन बनाउने तयारी थियो’-गुरुङ भन्छन् -‘एक वर्षमा यो कार्यसमितिले दिनरात एक गरी काम गर्नुपर्छ’ ।
स्वच्छाले केही गर्छु भनेर आउने युवाहरुको संख्या धेरै भएकाले यो कार्यसमितिले केही सकारात्मक काम गर्नेमा आफु ढुक्क रहेको गुरुङको भनाई छ । त्यस्तै एनआरएनएको तर्फबाट पुर्ण सहयोग गर्ने समेत देव गुरुङले बताउनुभयो ।

त्यस्तै एनआरएनएका निवर्तमान उपाध्यक्ष तथा तमु समाजका अगुवा नन्द गुरुङ पनि सामुदायिक भवन छिटो सम्पन्न गर्न सुझाव दिनुहुन्छ । समाजले वार्षिक रुपमा गर्दै आएको तमु ल्होछार र बुद्ध जयन्ती कार्यक्रमलाई परिमार्जित र व्यवस्थित गर्दै जानुपर्ने अर्को चुनौति रहेको गुरुङको भनाई छ ।
तमु समाज सिड्नीका नया कार्यसमितिको अर्को चुनौति भनेको पुराना अगुवाहरुलाई हातमा लिन सक्छ कि सक्दैन भन्ने हुनेछ । संस्थालाई सुरुवाति कालदेखि अहिलेसम्म डोर्याएर ल्याउने पुराना अगुवाहरुको संस्थाप्रतिको माया प्रगाढ छ । त्यहि मायाका कारण कहिलेकाही उनीहरुले कार्यसमितिको कामकारवाहीमा चाहिनेभन्दा बढी हस्तक्षेप गर्ने गरेका छन् । जसका कारण कार्यसमितिले ल्याएका नयाँनयाँ योजनाहरु अघि बढ्नै नसक्ने अवस्थाको सृजना हुने गरेको छ । यस्तो अवस्थालाई रोक्न आफ्नो टिम सधै अग्रसर रहने नव नियुक्त अध्यक्ष दिनेश गुरुङले बताउनुभयो । अग्रजलाई सम्मान गर्दै संस्थालँई अघि बढाउन हाम्रो टिम सधै लागिपर्ने छ । तमु समाज सिड्नीको खातामा रहेको ९० हजार डलर भन्दा बढी रकमलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि चुनौती नया टिममाथी छ ।
युवाहरुको यो
नयाँ टिमले सामुदायिक भवन बनाउने कामलाई मूर्तरुप दिने हो भने इतिहासमा नाम लेखाउने यो नै सुवर्ण अवसर हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ