Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल पठाएको ४ करोड रुपैया अष्ट्रेलियामै गायब !

नेपाल पठाएको ४ करोड रुपैया अष्ट्रेलियामै गायब !


सरल गुरुङ/मेलवर्न

मेलवर्नका सुजित श्रेष्ठ (गोपनियताका लागि नाम परिवर्तन गरिएको छ) ले नेपाल जानका लागि एभरेष्ट भ्यु ट्राभलस् एण्ड टुर्सबाट २४ सय ५० डलरमा हवाई टिकट काटे । स्थानिय नेपालीले संचालन गरेको सो टुर्सले श्रेष्ठलाई हवाई टिकट पनि पठाए । तर, विमान कम्पनीसंग बुझ्दा त यसअघि काटिएको टिकट रद्द भईसकेको रहेछ । श्रेष्ठले आफुले पैसा तिरिसकेपछि टुर्सले टिकट रद्द गरेर आफुलाई नक्कली टिकट पठाएको व्यहोरासहितको स्टाटस गत जनवरी २८ तारिखमा फेसबुकमा लेखेका छन् । उनले यसबारे प्रहरीमा उजुरी गर्ने जनाएका छन् । उनको स्टाटसको अंश यस्तो छ ।

उनको स्टाटसको अंश यस्तो छ ।

समयमा भुक्तानी नदिदा एभरेष्ट भ्युले काटेको टिकटहरु होलसेलरले धमाधम रद्द गरिदिदा यस्तो समस्या आएको हुन सक्ने गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ । यसरी नक्कली टिकट काटेर यो ट्राभल एजेन्सीले अन्य थुप्रै नेपालीसंग लाखौ रुपैया उठाएको उजुरी गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा परेको छ । यसबारे संघले आवश्यक छलफल गरिरहेको छ । झट्ट हेर्दा हवाई टिकट ठगी जस्तो देखिने यो घटना त्यत्तिमा मात्रै सिमित छैन । नक्कली टिकटको यो जालो अवैद्य बित्तिय कारोवार (नेपालमा हुण्डी भनि चिनिएको) संग जोडिएको छ । टिकटबाट उठेको पैसा अवैधानिक वित्तिय कारोबारमा खर्च भएको हुनसक्छ ।

५२ नेपालीका ४ करोड डुब्यो
नक्कली टिकट भिडाएर लाखौ डलर हिनामिना आरोप लागेको एभरेष्ट भ्यु ट्राभल्स एण्ड टुर्सले अवैधानिक रुपमा नेपालमा पैसा पठाउने भन्दै थप करोडौ रुपैया घोटला गरेको आरोप समेत लागेको छ ।
टुर्सले संचालन गरेको मनी ट्रान्सफरले नेपाल पठाइदिन्छु भनि लिएको लाखौ डलर उता भुक्तानी नदिएको भन्दै पैसा पठाउनेहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । हुण्डीका रुपमा पैसा पठाउदा वा ल्याउदा नेपालमा गैरकानुनी भएर उल्टै पक्राउ पर्ने अवस्था भएकाले पैसा डुबेका पीडितहरु खुलेर सार्वजनिक हुन सकेका छैनन् । तर, उनीहरुले एभरेष्ट भ्यु ट्राभल एण्ड टुर्सविरुद्ध एकजुट भएर गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा हारगुहार भने गरेका छन् ।
पीडितहरुले भाइभर ग्रुप समेत बनाएका छन् । जसमा हवाई टिकट र हुण्डी पीडित ५२ जना सम्मिलित छन् ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल

एभरेष्ट भ्युविरुद्ध पीडितहरुले गैरआवासिय नेपाली संघ अष्ट्रेलियामा उजुरी गरेको यसका अध्यक्ष केशव कँडेलले पुष्टी गरे ।
‘नेपाल पैसा पठाउदा भुक्तानी नभएको भन्दै केही व्यक्तिहरुले हामीलाई जानकारी गराएको छ’- कँडेलले भने -‘हामीले पहिलो चरणमा पीडितसंग र दोस्रो चरणमा एभरेष्टभ्युका संचालकसंग छुट्टाछुट्टै छलफल गरिसकेका छौ ।’ 

तेस्रो चरणमा पीडित र संचालक दुबैलाई संगै राखेर छलफल गरिने कँडेलले नेपालट्युबलाई जानकारी दिए ।
झण्डै ९ महिनादेखि पैसा रोकिएकाहरुको पनि जमात लामै छ ।

एकै जनाको ५१ हजार डलर डुब्यो

एभरेष्ट भ्युको मनी ट्रान्सफरबाट पैसा पठाउन खोज्दा एकै जनाको ५१ हजार डलरसम्म डुबेको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ । संघमा आएको जानकारीका अनुसार सबैभन्दा धेरै एकजनाको ५१ हजार त्यस्तै एकजनाको ३६ हजार डलर, दुइ जनाको ३२/३२ हजार र अर्को एक जनाको २२ हजार डलरसम्म डुबेको छ ।
यत्ति धेरै पैसा ती मानिसहरुले किन पठाउन लागेका थिए भन्ने खुलेको छैन । तर, स्रोतका अनुसार उनीहरुमध्ये केहीले नेपालमा घर किन्नका लागि पैसा पठाउन लागेको बुभिएको छ ।
यत्ति ठुलो रकम मनी ट्रान्सफर वा बैकको वैध बाटोबाट नेपाल पठाउदा अष्ट्रेलियामा पनि स्रोत देखाउन पर्ने हुनाले अनौपचारिक बाटो रोजेको देखिन्छ ।
त्यस्तै अष्ट्रेलियामा घर किन्नका लागि नेपालबाट मगाएको ३२ हजार डलर समेत डुबेको छ । नेपालबाट विदेशमा पैसा ल्याउदा बैंकिङ माध्यमबाट मात्र प्रयोग गर्न पाइन्छ । अन्य वैकल्पिक माध्यमहरु गैरकानुनी हुन् ।

बैंक करप्ट (टाट पल्टिने) को डर

चार वर्षदेखि मेलवर्नमा संचालनमा रहेको एभरेष्टभ्यु ट्राभल एजेन्सीले छोटो समयमै लोभलाग्दो प्रगती गरेको जानकारहरु बताउछन् ।
तर, व्यवस्थापनमा आएको कमजोरीका कारण केही समयपछि नै व्यवसायमा ठुलै ह्रास आउन थाल्यो । त्यसमाथी यता वैध मनी ट्रान्सफर र उता नेपालमा अवैध हुण्डीको व्यवस्थापन पनि सजिलो विषय होइन । व्यवसायमा घाटैघाटा हुन थालेपछि यसका संचालकले नेपाल पठाइदिन्छु भनि लिएको रकम भुक्तानी नदिई व्यवसायका अन्य प्वालहरु टाल्न थालेको बुझिन्छ ।
यसका संचालकले व्यवसायको घाटापुर्ती गर्न नसक्दा टाट पल्टेको घोषणा गर्ने समेत छ । अष्ट्रेलियामा बैंक करप्ट्सी अर्थात टाट पल्टेको घोषणा गरेपछि त्यस्ता व्यक्तिको श्रीसम्पत्ति बेचेर ऋण चुक्ता गर्ने व्यवस्था छ । तर, गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका अनुसार ती संचालकले टाट पल्टेको घोषणा गरे पीडितहरुको पैसा उठ्न असंभव हुनसक्छ ।
संचालकको नाममा अष्ट्रेलियामा एउटा घर छ । टाट पल्टेको घोषणा गरेपछि बैंकले सो घर बेच्छ । तर, घर बेचेको पैसा व्यवसायको ऋण तिर्दै सकिने हुनाले पीडितलेहरु पैसा फिर्ता पाउने बाटो बन्द हुन्छ । त्यसैले एनआरएनए अष्ट्रेलियाले टाट पल्टेको घोषणा नगरी घर बेचेरै भएपनि पीडितको पैसा तिरिदिन पहल गरेको अध्यक्ष कडेलको भनाई छ ।

सम्पर्कमै आएनन् संचालक

एभरेष्ट भ्यु ट्राभल बारे गुनासो सामाजिक संजालै भरी सार्वजनिक भएपछि नेपालट्युबले पनि समाचार सामाग्री तयार पार्न यसका संचालकसंग सम्पर्क गर्ने प्रयास गर्यो । संचालकको मोवाइलमा पटक पटक टेलिफोन गर्दा पनि सम्पर्क हुन सकेन । संचालकसंग सम्पर्क नभएपछि यस विषयको अर्को पाटो बाहिर आउन सकेको छैन । त्यसप्रति हामी सजग छौ । त्यसैले यसबारे फलोअपका लागि हामी संचालकसंग सम्पर्क गर्ने कोसिस गरिरहने छौ ।

पटक पटक उस्तै घटना दोहोरिदै

यसअघि पनि मेलवर्नमै नेपालीको मनी ट्रान्सफरले यता पैसा लिएर नेपालमा भुक्तानी नदिदा यस्तै समस्या भएको थियो । केही महिनाअघि मात्रै एनआरएनए अष्ट्रेलियाको रोहवरमा पीडित र मनी ट्रान्सफरका संचालकबिच पैसा तिर्ने सहमति भएको छ । तर, पनि पीडितले अझै पैसा पाउन सकेका छैनन् । संचालकले नेपालबाट पैसा झिकाएर अलिअलि गर्दै पीडितलाई पैसा फिर्ता दिइरहेको अध्यक्ष क“डेलले दावी गरे । यसअघिको समाचार यहाँ छ 

दुतावास के गर्दैछ ?

हामीले यस विषयमा क्यानवेरास्थित नेपाली दुतावासलाई समेत सम्पर्क गरेका छौ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले यस घटनाबारे दुतावासमा जानकारी आएको बताए ।

राजदूत महेश दाहाल

‘हामी यस विषयमा भिक्टोरियाको महावाणिज्यदूतसंग थप जानकारी लिइरहेका छौ’- राजदूत दाहालले भने -‘अष्ट्रेलियाको कानुन अनुसार कारवार्ही गरि पीडितको पैसा फिर्ता गराउन पहल गर्छौ ।’ 
राजदूत दाहालले अनौपचारिक माध्यमबाट पैसा पठाउने क्रम रोक्नका लागि नेपालको बैंकको शाखा अष्ट्रेलियामा खोल्नका लागि दुतावासले नेपाल सरकारलाई सुझाव दिएको बताए । 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ