Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआधारहिन कन्फेसनविरुद्ध बोल्न थाले अष्ट्रेलियाका नेपाली समाज । कसले के के भने ?

आधारहिन कन्फेसनविरुद्ध बोल्न थाले अष्ट्रेलियाका नेपाली समाज । कसले के के भने ?


सरल गुरुङ/ब्रिजवेन
एउटा अमुख फेसबुक पेजले कन्फेसनको नाममा वर्षौदेखि नेपालीको चिरहरण गरिरहेको भन्दै अष्ट्रेलियाका नेपाली समाज, गैरआवासिय नेपाली संघ तथा राजदूतावासको गम्भीर ध्यानाकषर्ण भएको छ ।
केही दिन अघि नेपाल ट्युबले प्रकाशित गरेको खोजमूलक समाचार सामाग्रीपछि अष्ट्रेलियाको नेपाली समाजबाट व्यापक प्रतिक्रिया आएको हो । केही वर्षदेखि कन्फेसन अफ नेपलिज इन अष्ट्रेलिया भन्ने अमुख फेसबुक पेजले अष्ट्रेलियामा बस्ने नेपाली समाज, चेलिबेटी तथा अभियन्ताको मानमर्दन हुने गरी आधारहिन पोष्टहरु गर्दै आइरहेको छ । यो कुरा नेपाली समाजको टाउको दुखाई बनेपनि खासै नियन्त्रण तथा नियमनको प्रयास हुन सकेको छैन । संचालक र संचालन हुने स्थानको विवरण नभेटिएको उक्त पेजले जे पायो त्यहि लेखेपछि यहा“को नेपाली समाजको टाउको दुख्दै आएको छ । तर, समाचार बाहिरिएपछि भने यसका अन्य थुप्रै पाटोको उजागर भएको छ । समाजमा चिनिएकै व्यक्तिहरुले नै यो पेजमा छापिएका आधारमा आफुले पीडित भनिएकाहरुलाई सम्पर्क गर्न खोजेपनि नभेटिएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै यस्तो प्रवृत्तिले झागिदै गरेको नेपाली समाजलाई एकिकृत गर्नुको साटो समाजमा घृणा फैलाएर विभाजनतिर लैजाने सामाजिक अगुवाहरुको धारणा छ । कन्फेसनका नाममा पोष्ट भएका अधिकांश विवरणमा नारी चरित्रलाई निकै तल्लो स्तरमा गाली गरिएको तथा महिलालाई केवल बस्तुको रुपमा मात्रै चित्रण गरि जे गरेपनि हुन्छ भन्ने विचारलाई प्राथमिकता दिइएको छ । त्यसमा आउने कमेन्टमा आएका गालीले अष्ट्रेलियामा पढ्न आएका युवतीहरु सबै निकम्मा हुन भन्ने भान हुन्छ । यस विषयमा पनि समाजले नारीविरुद्ध घृणा फैलाउन कन्फेसनका नाममा पुरुषवादी गिरोह नै लागेको हुनुपर्ने टिप्पणी गरेका छन् । क्यानवेरास्थित नेपाली दूतावासले पनि यो विषयमा आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारले समेत यो विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ । नेपालट्युबको समचारपछि मेलवर्नबाट संचालित लोकप्रिय नेपाली मिडिया एमएनटिभीले पनि कथित कन्फेसन बारे महत्वपुर्ण समाचार सामाग्री प्रकाशन गरेको छ ।

कुण्ठा र ढाह पोख्ने माध्यम- डिला खरेल, एनआरएनए अभियन्ता, सिड्नी

सिड्नीका सामाजिक अभियन्ता डिला खरेलले केही वर्षअघि नै आफु एनआरएनए अष्ट्रेलियाको प्रवक्ता रहदा, कथित कन्फेसनमा कमेन्ट गरि सहयोगका लिन आउनु भन्दा पनि कोही नआएको बताउनुभयो । ‘पीडित भएको, दुख पाएको, श्रीमानले कुटेको, जागिर नपाएको जस्ता कन्फेसन पढेपछि मैले कमेन्टमा मेरो नम्बर, घरको ठेगान समेत दिएर सम्पर्क गर्नुस सहयोग गर्छौ भनेर लेखे’- खरेलले भन्नुभयो- ‘तर थुप्रै कन्फेसनमा कमेन्ट गरेपनि मलाई सम्पर्क गर्न कोही आएनन् ।’ त्यसपछि आफुले यो कन्फेसन मनगढन्ते भएको बुझेर पढ्नै छाडिदिएको खरेको भनाई छ । अष्ट्रेलियामा दूतवास, एनआरएनए र विधीको शासन छ केही समस्या परे लुकेर छिपेर कन्फेसन लेख्ने भन्दा पनि आधिकारिक निकायमा गएर सहयोग लिनुपर्ने खरेलको धारणा छ । यो कुनै समुहले सुनियोजित रुपमा कसैप्रति लक्षित गरि कुण्ठा र इष्र्या पोख्नका लागि कन्फेसन पेज दुरुपयोग भइरहेको खरेलको भनाई छ ।

महिलाप्रति दुराचार भयो- पुनम पन्त, सामाजिक अभियन्ता, होबार्ट

यो कन्फेसन अफ नेपलिज इन अष्ट्रेलिया भन्ने पेजले अनलाईनबाट अश्लिलता र महिलाप्रति दुराचार फैलाइरहेको छ । मैले यो पेजको पोष्टहरु हेर्दा पुरुषहरुलाई पनि बेइज्जत गरिएको भेटे, तर त्यो भन्दा पनि बढी महिलाहरुप्रति घृणा फैलाउने प्रवृत्ति निकै बढी पाए । यस्ता पोष्ट गर्नेहरु अधिकांश फेक आइडीवाला हुन्छन् । त्यस्ता फेक आइडीवालाहरुले यस्ता अनलाईन प्लाटफर्महरुको दुरुपयोग गर्ने गरेका छन् । सामाजिक सद्भाव खलबलाएर घृणा फैलाउने यस्ता पेजका संचालकलाई कानुनी दायरामा ल्याउनुपर्छ ।

हेमन्त काफ्ले, अध्यक्ष अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन, एन्जा

विशेषत विद्यार्थीको आत्मआलोचना अर्थात कन्फेसनका नाममा मनपरी र मनलाग्दी पोष्टहरु राखेर आफुलाई लोकप्रिय बनाउन खोज्ने र नेपाली समाजलाई बद्नाम गराउने कार्य गरेका हो भने यस्ता सामाजिक संजाल पेज संचालकहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ । नेपालीहरुको साझा संस्था एनआरएनए र नेपाली राजदूतावासले समेत यस्ता विषयमा एक कदम अगाडी बढेर खोजिनीति गर्नुपर्ने बेला आएको छ । मनगढन्ते कहानी पोष्ट गरेर समाज र विशेषत नेपाली विद्यार्थीलाई दिग्भ्रमित गराउने यस्तो कार्यको खुलेरै विरोधमा उत्रने नेपालट्युबलाई साधुवाद ।

सुधार नगरे सामाजिक रुपमै कानुनी बाटोमा जानुपर्छ -डा भरतराज पौडेल, संचारविज्ञ, ब्रिजवेन

कन्फेसन अफ नेपलिज इन अष्ट्रेलिया जस्ता फेसबुक पेजले मानिसलाई घृणा र नकारात्मकतातिर दुरुत्साहित गरि सिंगो समाजलाई नै गलत दिशातर्फ धकेल्न सक्छ । त्यसैले सचेत र शिक्षित वर्ग यस्ता गतिविधीबाट सचेत हुनुपर्छ । सस्तो लोकप्रियताका लागि सामाजिक संजालको दुरुपयोग गर्नु राम्रो होइन । यस्ता पेजहरु किन र कुन उदेश्यले खोलियो स्पष्ट हुनुपर्छ । कुनै समुह र वर्गले सुनियोजित रुपमा कसैको मानहानी गर्न पनि यस्तो पेजहरु संचालन गरेको हुनसक्ने तर्फ सबै सचेत हुनुपर्छ । यस्ता पेज संचालकहरु गोप्य रहने भन्दा पनि परिचय खुलाएर समाजसंग अन्तरक्रिया गरि अहिलेसम्म गरेका गल्तीप्रति माफी मागेर सुधार गर्दै जाने प्रतिवद्धता गर्नुपर्छ । यदि त्यसो नगरि यस्तो प्रवृत्तिले निरन्तरता पाइरहे समाजले सामुहिक रुपमै कानुनी उपचारको बाटोमा जानुपर्छ ।

सत्यतथ्य नै नबुझे लेख्दा कसैको जीवन नै बर्बाद हुनसक्छ – नन्द गुरुङ, प्रवक्ता एनआरएनए अष्ट्रेलिया

नेपालट्युबले गरेको खोजमुलक सामाचारका लागि धन्यवाद दिन चाहान्छु । कन्फेसनका नाममा सत्यतथ्य नबुझी जे मन लाग्यो त्यहि पोष्ट गर्नु राम्रो होइन । कसै विरुद्ध गाली गौलजसहितको पोष्ट गर्दा त्यो व्यक्तिको जीवन बर्वाद समेत हुनसक्छ । सामाजिक संजाल चलाउन पाइन्छ । आफ्नो कुरा भन्न पनि पाइन्छ । तर, त्यसो भन्दैमा कानुन र सामाजिक मर्यादाको ध्यानै नदिने चाहि गर्नुहुदैन । यदि झुठो कुरा पोष्ट भएपछि मानसिक तनावमा परेर कसैले नराम्रो कदम उठायो भने त्यसको जिम्मेवारी कसरी लिन्छ ? भाइरल हुन वा पैसा कमाउन कसैको चरित्रहत्या गर्ने काम बन्द हुनुपर्छ । हामी एनआरएनएको तर्फबाट केही सचेतनाका कार्यक्रम गर्ने कोसिस गर्छौ । यस्तो पेज जसले चलाएको भएपनि परिचय सार्वजनिक गरेर समाजमा आउनुपर्छ, लुकेर भित्रभित्रै यस्तो गलत गर्न पाईदैन ।

हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ  महेश दाहाल, अष्ट्रेलियाका लागि नेपाली राजदूत

समाजिक संजालबाट नेपालीको मानमर्दन गर्ने काम भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्वतन्त्रताको नाममा छाडापन देखाउन हुदैन । हामी सबै मिलेर विदेशी भूमीमा नेपालको शान बढाउनुपर्नेमा, सामाजिक संजालमार्फत उल्टै घृणा फैलाएर समाज भाड्ने काम गर्नुहुदैन । हुदै नभएको कुरा लेखेर समाजमा भाडभैलो ल्याउने कार्य जो कसैले गरेको भएपनि बन्द हुनुपर्छ । यस्ता कार्य जो कसैले गरेको भएपनि तत्काल बन्द गर्न अनुरोध गर्दछु । सबै नेपालीले अष्ट्रेलियाको विधी विधानको अधिनमा रहेर काम गर्नुपर्छ । यदि यस्तो पेज नेपालबाट संचालित भएको प्रमाण भेटिए, कारवाहीका लागि सम्बन्धित निकायमा अनुरोध समेत गर्न सकिनेछ ।

एउटा मात्रै घटना प्रमाणित भए यसका संचालकले मंहगो मुल्य चुकाउनुपर्छ- खिलेन्द्र तिमिल्सिना, कानुन व्यवसायी सिड्नी

म कन्फेसन अफ नेपलिज अष्ट्रेलियाको कन्फेसनमा नियमित जस्तो कमेन्ट गर्छु । केही पोष्टहरु सत्य होलान् भनेर कानुनी उपचारका बाटोहरु देखाइदिन मैले कमेन्ट गर्ने गरेको हु । त्यस्ता पोष्टहरुमा खासगरी यौन, श्रीमान् श्रीमतिको व्यथा र प्रेमका विषयहरु धेरै आउने गरेका छन् । व्यक्तिको नामै नखुलाएपनि विवरणहरुका आधारमा त्यो व्यक्तिको पहिचान गर्न त्यत्ति गार्हो हुदैन । त्यसैले आफ्ना बारेमा लेखिएका कन्फेसन पढेर कसैले सेल्फ हार्म गर्ने अवस्थाहरु थुप्रै छन् । यदि कसैले यहि पोष्टबाट विक्षिप्त भएर सेल्फ हार्म गर्यो वा ज्यानै लियो भने त्यसको जिम्वेवारी पेज संचालक वा कन्फेसरले लिनुपर्छ । यदि एउटा मात्रै यस्तो घटनाको उजुरी परेर प्रमाणित भयो भने यस्ता पेजका संचालकलाई मंहगो मुल्य पर्न सक्छ । पेजमा कन्फेसन पठाउदा संकलन भएको व्यक्तिगत विवरणको दुरुपयोग हुदैन भन्ने अवस्था पनि देखिदैन । त्यसो त कथित कन्फेसनले महिलामाथी घृणा फैलाउने काम भइरहेको छ । महिलालाई वस्तु जस्तै गरेर चित्रण गर्ने कार्य रोकिनुपर्छ । हामीले यस्ता प्रवृत्तिलाई टुलुटुलु हेरेर बस्नु भनेको टाइम बम जस्तै हो, जतिबेला पनि पड्किएर ठुलो क्षति गर्न सक्छ ।

निस्वार्थ सेवा गर्नेहरुलाई खुट्टा तान्ने काम नगरौ- देव गुरुङ, संयोजक एनआरएनए न्यु साउथ वेल्स

मैले समाचार पढे सारै दुख लाग्यो । झुठो र भ्रमपुर्ण पोष्ट गरेर कसैको मानहानी गर्ने काम तत्काल बन्द हुनुपर्छ । जसले जे लेखेर पठाएपनि सत्यतथ्य नै नबुझी एडमिनले पोष्ट गरिदिदा त्यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ । यदि यो प्रवृत्तिले निरन्तरता पाइरहे हामीले कानुनी एक्सनमा समेत जानुपर्छ । कुनै व्यक्तिसंग समस्या भए आपसी समझदारीमा मिलाउन सकिन्छ वा कानुनी उपचार खोज्न सकिन्छ । तर, लुकीछिपी जे पायो त्यहि लेखेर कसैको मानहानी गर्नु गलत हो । सके सहयोग गर्दै नसके निस्वार्थ सेवा खटिएकाहरुको खुट्टा तान्ने काम बन्द गरौ ।

केही दुर्घटना भए कसले जिम्मा लिन्छ ? – बुनु गौतम, कानुन व्यवसायी ब्रिजवेन

मलाई त नेपाली समाजमा यस्तो पेज छ भन्ने पनि थाहा थिएन । समाचार पढेपछि छक्क परे । अष्ट्रेलियामा हामी सानो समाज भएकाले कुनै पेशा र वर्गप्रति लक्षित गरेर लेख्दा त्यससंग सम्बन्धित सबैलाई चोट पर्न सक्छ । मेरो प्रश्न चाहि त्यो फेसबुक पेज संचालकले मानिसको व्यक्तिगत विवरण संकलन गर्ने र उनीहरुको पहिचान गोप्य राखी जे पायो त्यहि प्रकाशित गर्ने कानुनी अधिकार के हो ? अष्ट्रेलियामा विधीको शासन छ, यहाँ समस्या परे सम्बन्धित निकायमा उजुरी गर्ने वा गुनासो गर्नुपर्छ । जे मनलाग्यो त्यहि लेख्दा भोली केही दुर्घटना भयो भने कसले जिम्मा लिन्छ ? यदि कन्फेसनमा लेखिएजस्तै घटना भएकै भएपनि पहिचान खुल्ने विवरण राखेर पोष्ट गर्न पाइदैन भने हुदै नभएको घटनालाई अतिरञ्जित गरेर पोष्ट गर्नु सिधै कानुनको उल्लघंन हो ।

यो पनि पढ्नुहोस

कन्फेसनका नाममा अष्ट्रेलियाका नेपालीबिच झुठको खेति । मनगणन्ते लेखेर छोरीचेलीको बेइज्जत 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ