थाई एयर एसियाले थाल्यो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान !
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमान कम्पनीहरुले उडान भर्ने क्रम बढ्न थालेको हो । लामो समयको प्रतीक्षापछि भाइटिकाको दिन आइतबारबाट थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान थालेको हो ।
अब नियमित उडान भर्नेगरि नोभेम्बर ३ तारिख आइतबार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तीन ३२० अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारि दिएको छ । भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यले पहिलो उडानमा विमानका चालक दलका ७ सदस्यहरू मात्रै आएको जानकारि दिनुभयो । अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने गरि उडान तालिका तय गरिएको छ । २३ गते बिहान ७ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने विमान २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे उडान भर्नेगरि समय निर्धारण भएके छ ।
थाई एअर एसियाले केही दिनअघि मात्रै भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाएको थियो । लगत्तै उडान सुरु भएको छ । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपैयाँ तय गरिएको छ । आइतबार आएको एअर एसियाको विमान बिहान ७ बजेर ४० मिनेटमा बैंकक फर्किएको थियो ।
तपाईको प्रतिक्रिया