Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नेपाली सामुदायिक केन्द्र बन्ने संभावना बढ्दै, ६ महिनाभित्र जग्गा किन्ने पलायो आशा

ब्रिजवेनमा नेपाली सामुदायिक केन्द्र बन्ने संभावना बढ्दै, ६ महिनाभित्र जग्गा किन्ने पलायो आशा

सदस्य बन्न सरप्राईज घोषणाले ल्यायो माहौल


ब्रिजवेन/ हिन्दीमा एउटा भनाई छ– ‘जब खुले आँख तब हुए सबेरा’ अर्थात ‘जब आँखा खुल्छ तब हुन्छ बिहानी’ । अहिले ब्रिजवेनका नेपालीको आखा खुलेको छ, सामुदायिक भवन बनाउनका लागि । कुइन्सल्याण्डको ब्रिजवेनमा नेपाली सामुदायिक केन्द्र बनाउनु पर्छ भन्ने विचारको सुरुवात सन् २००६ सालतिरै भएको पाइन्छ । त्यसलाई संस्थागत छलफलमा ल्याउने कार्य भने सन् २०१५ मा गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डको नेतृत्वमा आउनु भएका अभिमानसिंह बस्नेतले गर्नुभएको हो । क्युएनसिसिका निवर्तमान अध्यक्ष हरि खड्का, कुइन्सल्याण्ड नेपलिज एशोसियसन एनएक्यु र एनआरएनए कुइन्सल्याण्डका बस्नेतको सक्रियतामा केही चरण बैठक भएपनि त्यसले मुर्तरुप पाउन सकेन । तर, त्यस छलफलले सामुदायिक भवन बनाउनु पर्ने भावनाको सुत्रधार भने गरिदियो ।

सन् २०१८ मा सामुदायिक भवन बनाउन कै लागि कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसि गठन त्यसैको नतिजा हो । सुरुका दुइ वर्ष संस्थाले खासै ठुलो छलाङ मार्न नसकेपनि पछिल्लो केही महिना भने संस्थाले केन्द्र बनाउने काममा नाटकिय सक्रियता हासिल गरिरहेको छ । यस्तो सक्रियताले कुइन्सल्याण्डमा नेपाली सामुदायिक केन्द्र बन्छ भन्ने संभावनालाई बलियो बनाएको छ । यसबिचमा केन्द्रका लागि मेरुदण्ड मानिएको सदस्यता विस्तार दोब्बर मात्रै भएको छैन, केन्द्र बन्नुपर्छ भन्नेमा समुदाय सकारात्मक समेत देखिएका छन् । कुइन्सल्याण्डको ब्रिजवेनमा नेपाली सामुदायिक केन्द्र बन्ने आशा पलाउनुका पछाडी यी कारणहरु बलियो बनेका छन् ।

१. सदस्यता विस्तार तिब्र

क्युएनसिसिले दुइ वर्षमा मुस्किलले ७० जना जति आजिवन सदस्य बनाएको थियो । स्मरण रहोस् क्युएसिसिले केन्द्रका लागि आवश्यक रकम जुटाउने मुख्य आम्दानीको स्रोत सदस्यता वितरणलाई बनाउदै आएको छ । क्युएनसिसिका अध्यक्ष डा केशव शर्माले प्रस्तुत गर्नुभएको मुल्याकंन अनुसार ब्रिजवेन आसपासमा केन्द्रका लागि आवश्यक जग्गा किन्न मात्रै तत्कालिन भाउ अनुसार ७ लाख डलर चाहिन्छ । यो रकम जुटाउन कम्तिमा पनि ३ सय ६० जना आजिवन सदस्यको आवश्कता पर्ने शर्माको रिपोर्टमा उल्लेख छ ।

क्युएनसिसिको आजिवन व्यक्तिगत सदस्यताका लागि १ हजार र पारिवारिक सदस्यताका लागि १५ सय डलर शुल्क तोकिएको छ । यहि शुल्कका आधारमा सदस्यता संख्याको हिसाब निकालिएको हो । तर समस्या, क्युएनसिसिले सदस्यता विस्तार नै गर्न सकेको थिएन । महिना दिनमा एक दुइ जनाको घरमा पुगेर सदस्यता विस्तार गर्न खोजिएपनि प्रभावकारी देखिएको थिएन । तर, अहिले परिस्थिती फेरिएको छ । पछिल्लो दुइ महिना मात्रै क्युएनसिसिको सदस्यता दोब्बर पुगेको छ । हाल सदस्यता संख्या बढेर १ सय ३५ पुगेको छ । आजिवन सदस्यता लिने क्रम ह्वात्तै बढ्न थालेपछि अब छिट्टै जग्गा किन्न सकिने आशा पलाएको अध्यक्ष केशव शर्माले नेपालट्युबलाई बताउनुभयो ।

२ सदस्यता लिन प्रतिष्प्रधा, एनआरएनए कुइन्सल्याण्डको सरप्राइज

सकारात्मक प्रतिष्प्रधा जहिले पनि व्यक्ति र समाजलाई लक्ष्यको नजिक पु¥याउछ । ब्रिजवेनमा केन्द्र निमार्णमा योगदान दिन प्रतिष्प्रधा नै सुरु भएको छ भन्दा फरक नपर्ला । क्युएनसिसिमा हालै डा. केशव शर्माको नेतृत्वमा नयाँ टिम आएको छ । यो टिमले सुरु देखि नै समुदायसंग व्यापक छलफल गर्ने, उनीहरुको जिज्ञासा र प्रतिक्रिया बुझेर भावी रणनीति बनाउने नीतिलाई प्राथमिकतामा राख्यो । त्यसै अनुसार अक्टोबर २३ तारिखमा क्युएनसिसिले साउथ ब्रिजवेनका नेपाली समुदायसंग केन्द्रबारे अन्तरक्रिया गर्यो । कार्यक्रममा समुदायबाट तिता र मिठा दुबै खाले प्रतिक्रिया आए । अहिलेसम्म किन हुन सकेन भनेर क्युएनसिसिको आलोचना पनि भयो । त्यसलाई स्थानिय संचारमाध्यमहरुले पनि प्राथमिकताका साथ प्रकाशन गर्यो । समाज र मिडियामा आएका आलोचनालाई क्युएनसिसिका अधिकांश पदाधिकारीले छलफललाई थप गहकिलो बनाउने मौकाको रुपमा लिए ।

नभन्दै केही हप्तापछि नोभेम्बर १३ तारिखमा साउथ ब्रिजवेनका नेपालीहरुले सरप्राइज दिए । स्थानिय समाजसेवी इश्वर कुँइकेलको सक्रियतामा साउथ ब्रिजवेनका ४३ जनाले क्युएनसिसिको आजिवन सदस्यता घोषणा गरे । घोषणा कार्यक्रममा अध्यक्ष शर्माले यसअघि समुदाय र मिडियाले उठाएका विषयलाई सम्बोधन गरि सुधारिएको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यस कार्यले क्युएनसिसिका पदाधिकारीप्रति समुदायले हेर्ने दृष्टीकोण थप सकारात्मक बन्न पुग्यो । साउथमा सदस्य बन्ने क्रम अझै जारी छ ।

ब्रिजवेन साउथ साइडका ४३ जना नेपालीले सामुहिक सदस्यता घोषणा गर्दै

साउथ ब्रिजवेनबाट सदस्यता बन्न सल्किएको आगो नर्थ साइडसम्म फैलिएको छ । साउथका भन्दा हामी चाहि के कम भन्दै नर्थ ब्रिजवेनका नेपालीहरु पनि सदस्यता लिनका लागि जुरमुराएका छन् । त्यसको गतिलो उदाहरण हो, नोभेम्बर २८ मा नर्थ लेकमा भएको कार्यक्रममा । क्युएनसिसिले सामुदायिक केन्द्र बारे जानकारी दिन समुदायसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । तर, त्यहा त एनआरएनए कुइन्सल्याण्डका पदाधिकारीले सामुदायिक रुपमा सदस्यता घोषणा गरेर अर्को सरप्राइज थपिदियो । एनआरएनए कुइन्सल्याण्डका संयोजक बिनोदभक्त आचार्यले २७ जनाको नाम पढेर सुनाउदा हलमा तालिको वर्षा भएको थियो । लिष्टमा एनआरएनए कुइन्सल्याण्डका पदाधिकारी र सदस्यको नाम अटाएको थियो । नाम घोषणा गर्दै संयोजक आचार्यले भन्नुभयो -‘अबदेखि ब्रिजवेनमा सामुदायिक केन्द्र बन्ने सपना हामी सबैको हो ।’ ‘यो त सुरुवात हो’- भन्दै आचार्यले भन्नुभयो -‘हामी सदस्यतालाई अझै व्यापक बनाउछौ ।’ सदस्यता वितरण यत्तिमा मात्रै रोकिएन । कार्यक्रममा अन्तरक्रिया भइरदा अरु ८ जनाले पनि आजिवन सदस्यता घोषणा गरे ।

ब्रिजवेनको नर्थ साइडमा भएको अन्तरक्रिया कार्यक्रम

नर्थमा घोषणा गरेका ३५ सदस्यहरुको शुल्क बाहेक नै अहिले क्युएनसिसिसंग ३ लाख ३३ हजार डलर रकम खातामा छ । यहि हिसाबमा सदस्यता बढ्दै जाने हो भने अबको ६ महिनामा नै जग्गा किन्न सकिने आशा पलाएको अध्यक्ष डा शर्माले नेपालट्युबलाई बताउनुभयो ।

३. कुरा काट्नेहरु नै केन्द्र बन्छ भन्न थाले

केही महिना अघिसम्म पनि ब्रिजवेनमा नेपालीको सामुदायक केन्द्र बन्नै सक्दैन भन्नेहरु अहिले भन्नेहरुको लर्को थियो । क्युएनसिसिका केही सिमित पदाधिकारीले सामुदायिक केन्द्र निर्माणलाई व्यक्तिगत पेवा जस्तो बनाउदा यस्तो अवस्था आएको अनौपचारिक रुपमा जानकारहरुले नेपालट्युबलाई बताए । संस्थामा नयाँ टिम आएपछि अहिले ती छुद्र आलोचकहरुको मुख बन्द भएको छ । ब्रिजवेनको स्प्रिङफिल्ड लेकमा भएको पहिलो अन्तरक्रियामा केन्द्र बनाउने बाटोमा देखिएका चुनौती र समस्याका चाङका बारेमा बहस भएको थियो । समुदायले निर्मम रुपमा पदाधिकारी र योजनाको आलोचना गरेका थिए । त्यो छलफल इनालामा भएको सामुहिक सदस्यता घोषणा हुदै नर्थ लेकसम्म आइपुग्दा सकारात्मक दिशामा अघि बढेको छ ।

नर्थ लेकमा भएको सामुदायिक छलफलमा साउथ साइडमा जस्तो आलोचना भन्दा पनि अब कसरी अघि बढ्ने भन्नेमा बढी समय खर्च भयो । अन्तरक्रियामा आफ्ना विचार राख्नु भएका एनएक्युका अध्यक्ष देवराज पौडेल, मोहन राई, सुनिता श्रेष्ठ, मणि दाहाल, अभिमन्यु केसी र प्रकाश पौडेल सबैले सामुदायिक केन्द्रका लागि सबै एकजुट हुनुपर्ने सन्देश दिए । क्युएनसिसिले अघि सारेको योजनालाई समुदायले स्वागत गरेको दृश्य आकषर्क देखिन्थ्यो । यहि क्रमले सकारात्मक सन्देश फैलिदै जाने हो भने केन्दै निमार्णले तिब्रता पाउनेमा दुइ मत छैन ।

४. चन्दादाता थपिदै

नर्थ लेकमा भएको अन्तरक्रियामा एनआरएनए कुइन्सल्याण्डका निवर्तमान महिला संयोजक सुनिता श्रेष्ठले पारिवारिक आजिवन सदस्यता मात्रै घोषणा गर्नुभएन, बरु आफ्नो परिवारको तर्फबाट ३५ सय डलर चन्दा पनि दिनुभयो । चन्दा घोषणा गर्दै सुनिताले सबैले सकेको चन्दा दिने हो भने केन्द्र बनाउने सपना झन छिटो पुरा हुने बताउनुभयो ।

केन्द्र बनाउनका लागि यसअघि नै ब्रिजवेनका युवा व्यवसायी सागर अर्यालले क्युएनसिसिलाई १ लाख डलर चन्दा दिइसक्नु भएको छ । चन्दाबाट मात्रै क्युएनसिसिको खातामा १ लाख ४३ हजार डलर संकलन भएको छ । ब्रिजवेनमा चन्दा दिन सक्ने नेपालीहरुको ठुलो जमात छ । तर, केन्द्र बन्ने हो कि होइन भन्ने अन्यौलता कारण सो जमातले अहिलेसम्म आफ्नो थैली खोलेका छैनन । थैली खोल्ने कामको पुन सुरुवात सुनिताले गरिदिनु भएको छ । पछिल्लो समय देखिएको सकारात्मक चर्चाले सामुदायिक केन्द्र बन्ने बाटोमा हामी निकै अगाडी बढिसकेका छौ । त्यसैले चन्दादाताहरुले अब आफ्नो थैली खोल्ने समय ढिला गर्न हुन्न । किनकी भनिन्छ नि जब खुल्छ आँखा तब हुन्छ बिहानी ।

यो पनि पढ्नुस्

सामुदायिक केन्द्र बनाउन जुरुक्कै उठे साउथ ब्रिजवेनका नेपाली । एकैचोटी बने ४३ सदस्य (नामसहित) « Nepal Tube Australia

यस कारण ढिला हुदैछ ब्रिजवेनमा नेपाली भवन बनाउने योजना « Nepal Tube Australia

ब्रिजवेनमा नेपालीको सामुदायिक भवन बनाउन भोली सार्वजनिक छलफल, आकासको फल नहोस « Nepal Tube Australia

अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्दै । पशुपति र स्वयम्भूनाथको एकैसाथ दर्शन « Nepal Tube Australia


ट्याग : #brisbane, #Nepali cultural Centre, #qncc, #queensland
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ