Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्दै । पशुपति र स्वयम्भूनाथको एकैसाथ दर्शन

अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्दै । पशुपति र स्वयम्भूनाथको एकैसाथ दर्शन


सरल गुरुङ

ब्रिजवेनमा बन्ला त नेपाली सामुदायिक घर ? कुइन्सल्याण्ड राज्यको नेपाली समाजमा यो प्रश्न उठेको पनि एक दशक बढी भयोे ।
नेपाली बढेसंगै हाम्रो आफ्नै सामुदायिक भवनको आवश्यकता झन् झन् खड्कीएको छ ।
मर्दा पर्दा होस् या धार्मिक र सांस्कृतिक कार्यक्रम गर्न सामुदायिक भवन अपरिहार्य भइसकेको छ । नेपाली लोकसंस्कृति र धार्मिक आस्थालाई निरन्तरता दिन समेत कलेज र खुल्ला स्थानमा कार्यक्रम गर्न बाध्य छन् यहाँका नेपाली ।
झण्डै २० हजारको हाराहारीमा कुइन्सल्याण्डमा नेपालीहरु बसोबास गर्छन् । त्यसको ठुलो हिस्सा व्रिजवेन र गोलकोष्ट जस्ता शहरी इलाकामा छन् ।
यहि बृहद नेपाली समुदायलाई पायक गर्ने गरि सामुदायिक भवन बनाउने चर्चा चल्न सुरु भएको सन् २००६ देखि हो । सन् २०१२ मा गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डको नेतृत्वमा आएका अभिमानसिंह बस्नेतले पहिलो पटक संस्थागत रुपमा नेपाली सामुदायिक भवन बनाउने कुरा उठाए । केही चरण बैठक भएपनि त्यसले मुर्तरुप पाउन सकेन । तर, त्यस छलफलले कुइन्सल्याण्डको नेपालीलाई सामुदायिक भवन बनाउनु पर्ने भावनाको सुत्रधार भने गरिदियो ।

एनआरएनको आफ्नै जिम्वेवारी भएकाले सामुदायिक भवन बनाउने कुरा प्राथमिकतामा परेन । तर, कुइन्सल्याण्डको एउटा तप्का सामुदायिक भवन बनाइछाड्ने मनस्थितीमा पुगिसकेका थिए । नभन्दै सन् २०१७ मा सामुदायिक भवन बनाउन कै लागि कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर (क्युएनसिसि ) स्थापना भयो । स्थापनादेखि नै यो संस्था कुइन्सल्याण्डमा नेपाली सामुदायिक भवन बनाउन सक्रिय छ ।

 

पशुपति र स्वयम्भुसहितको सामुदायिक केन्द्र

निकै लामो समयदेखि छलफलमा रहेको सामुदायिक केन्द्र कस्तो बन्छ त ? यो प्रश्न उठ्नु स्वभाविक हो ।
सामुदायिक केन्द्रको ठ्याक्कै रेखाचित्र (ब्लु प्रिन्ट ) तयार नभएपनि क्युएनसिसिले परियोजनाले समेट्ने संरचना र विषय भने तय गरिसकेको छ ।
क्युएनसिसिले सार्वजनिक गरेको विवरण अनुसार सामुदायिक केन्द्र व्रिजवेनको मुख्य शहरी केन्द्र (सिबिडी) देखि ३५ किलोमिटर भित्र बन्नेछ ।
नेपालको सांस्कृतिक विविधता झल्किने केन्द्रको परिसरमा हिन्दु र बौद्ध धर्मका पशुपतिनाथ र स्वयम्भुको प्रतिमा खडा गरिनेछ ।
त्यस्तै परिसरमा नेपाली पुस्तकालय, नेपाली संग्रहालय, नेपाली संघसंस्थाका सम्पर्क कार्यलय र सभाहल समेत रहनेछन् ।

सामुदायिक केन्द्रमा समेटिने संरचनाको एक झलक

खासगरी सामुदायिक केन्द्र नेपालीहरु मर्दापर्दा भेटघाट गर्ने महत्वपूर्ण स्थलको रुपमा विकास गरिने क्युएनसिसिको योजना रहेको यसका अध्यक्ष हरि खड्काले जानकारी दिए ।
‘हाम्रो सामाजिक पहिचान र कला संस्कृतिको संरक्षणका लागि सामुदायिक केन्द्र महत्वपुर्ण छ’- अध्यक्ष खड्काले भने -‘यो काम ठुलो र चुनौतिले भरिएकाले सबैको सहयोग आवश्यक छ ।’

उठ्यो २ लाख ७५ हजार डलर

सामुदायिक भवन बनाउने कार्य निकै अगाडी बढिसकेको छ । सामुदायिक केन्द्र निमार्णको काम दुइ चरणमा बाडिएको छ । पहिलो जग्गा खरिद र दोस्रो संरचना निमार्ण ।
जग्गा खरिदका लागि ७ लाख डलर लाग्ने अनुमान गरिएको छ । आवश्यक रकम संकलन गर्न संस्थाले सदस्यता विस्तारमा जोड दिएको छ ।
भवन निमार्णको रकम कुइन्सल्याण्डका नेपालीमाझबाटै उठाउन क्युएनसिसि सक्रिय छ । जसका लागि इच्छुकले एक हजार डलर तिरेर साधारण वा १५ सय डलर तिरेर जिवनभरीका लागि सदस्य बन्न सक्छन् ।
हालसम्म भवन निमार्णकै लागि भनेर १ सय ३८ जना सदस्य बनिसकेका छन् । कार्यसमितिका १९ जनाले ५ हजार डलरका दरले रकम जम्मा गरिसकेका छन् । साधारण सदस्य र कार्यसमितिका सदस्यले संकलन गरेको रकममा व्रिजवेनमा संचालित एक्सपर्ट एजुकेशनले एक लाख डलर सहयोग उपलब्ध गराएको छ ।
हालसम्म सामुदायिक केन्द्र निमार्णका लागि खडा गरिएको कोषमा हाल २ लाख ७५ हजार डलर रकम सुरक्षित छ । भवन कै लागि भनेर घोषणा भएको १ लाख डलर संकलन हुन बाँकी रहेको क्युएनसिसिका सचिव नारायण पन्थीले जानकारी दिए । सहयोग संकलन जारी रहेकाले समुदायका सबै सदस्यलाई हातमाले गर्न पन्थीले आग्रह गरेका छन् । सदस्यता शुल्क किस्ताबन्दीमा समेत भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

सदस्यताका लागि यस लिंकमा क्लिक गर्नुहोस् ।

सदस्यता विस्तार गर्न क्युएनसिसिले नेपाली कार्यक्रमहरुमा सहभागी हुने, घरदैलो कार्यक्रम गर्ने र अन्य नेपाली संघसंस्थासंग हातेमालो गरिरहेको सचिव पन्थीले जानकारी दिए ।

जग्गा खोजी तिव्र

क्युएनसिसिले नेपाली सामुदायिक केन्द्रका लागि जग्गा खोजीलाई तिब्रता दिएको छ । निजी जग्गा किन्दा महंगो पर्ने भएकाले क्युएनसिसिले स्थानिय सिटी काउन्सिलको मातहतमा रहेको सार्वजनिक जग्गा किन्ने वा प्राप्त गर्ने प्रयासमा रहेको सचिव नारायण पन्थीले जानकारी दिए ।
३५ किलोमिटरभित्र पर्ने मोर्टन वे काउन्सिल, लोगान सिटी काउन्सिल, स्यामफर्ड भ्याली काउन्सिलसंग क्युएनसिसिले चरणवद्ध छलफल चलाएको छ ।
सचिव पन्थीका अनुसार यी मध्ये मोर्टन वे काउन्सिल नेपाली सामुदायिक केन्द्रलाई जग्गा उपलब्ध गराउने विषयमा बढी सकारात्मक देखिएको छ । मोर्टन वे काउन्सिलसंग दुइ चरणको छलफलपछि तेस्रो चरणको छलफलको तयारीमा क्युएनसिसि जुटेको छ ।

सामुदायिक केन्द्रलाई मिल्ने जग्गा भेटिएपछि तेस्रो चरणका बैठक बस्ने निर्णय भएकाले हाल काउन्सिल र क्युएनसिसि जग्गा खोज्न जुटेको छ ।
मोर्टन वे काउन्सिल सांस्कृतिक हब बनाउन जुटेकाले पनि नेपाली सामुदायिक केन्द्रलाई जग्गा दिने कुरामा सकारात्मक देखिएको पन्थीको दावी छ । काउन्सिल सहुलियत वा निशुल्क रुपमा जग्गा दिन सक्छ । काउन्सिलले जग्गा दिएमा जग्गाका लागि संकलित रकम संरचना निमार्णमा खर्च गरिने क्युएनसिसिले जनाएको छ ।

मोर्टन वे काउन्सिलमा पर्ने म्याङ्गो हिल, ग्रिफिन, नाराङवा जस्ता सबअर्बमा नेपालीको बसोबास बाक्लो छ । काउन्सिलले आफ्नो कार्यक्षेत्रभित्र रहेका बहुसांस्कृतिक समुदायलाई महत्व दिनेगर्छ । त्यसैले नेपालीको उपस्थिती देखाउनका लागि काउन्सिलले गर्ने सामुदायिक कार्यक्रमहरुमा सहभागी हुन क्युएनसिसिले त्यस भेगमा बस्ने नेपालीलाई आग्रह समेत गरेको छ ।

एनआरएनको पनि सहयोग जुट्दै

सामुदायिक केन्द्र बनाउने कुरा चानचुने होइन । समुदायका हरेक तह र तप्काका मानिसको हातेमालो बिना यो संभव छैन । सामुदायिक केन्द्र कुइन्सल्याण्डमा बस्ने सबै नेपाली जातजाति, धर्म र संस्कृतिको गन्तव्य भएकाले पनि यस कार्यमा सबै जुट्नुपर्ने देखिन्छ ।
क्युएनसिसि गठन भएपछि कुइन्सल्याण्डको सबैभन्दा पुराना नेपाली संस्था नेपालिज एशोसियसन अफ कुइन्सल्याण्ड र गैर आवासिय नेपाली संघ पनि हातेमालोमा जुटेको छ ।
एनआरएनए कुइन्सल्याण्डका हालै निर्वाचित संयोजक उमेश खड्काले त भवन निमार्णका लागि खुलेरै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी घोषणापत्रदेखि नै भवन निमार्णको विषयमा सकारात्मक देखिएका खड्काले एनआरएनका सबै सदस्यलाई क्युएनसिसिको सदस्य बन्न समेत आग्रह गरेका छन् ।
खड्का नेतृत्वको टिमले भवन निमार्णका लागि ¥यालीको आयोजना समेत गरेको छ । वाक फर कम्युनिटी सेन्टर नाम दिइएको ¥यालीद्धारा एनआरएनएले भवन निमार्णको महत्व र आवश्यकताका बारेमा जानकारी गराउन लागेको खड्काले जानकारी दिए ।

 

एक थुकी सुकी हजार थुकी नदी

झट्ट हेर्दा अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बनाउने काम गा¥हो जस्तो देखिएपनि यो असंभव भने छैन ।
व्रिजवेनकै कुरा गर्ने हो भने भ्यालीको मुटुमै बढेमानको चाइना टाउन छ । ठाउठाउमा चिनिया संस्कृति झल्कने मन्दिर र सामुदायिक केन्द्रहरु छन् ।
भारतियको पनि मन्दिरहरु प्रसस्तै छन् । नेपालीहरु केही ढिला गरि अष्ट्रेलिया आएको तथा अधिकांश विद्यार्थीकालमै रहेकाले नेपाली सामुदायिक केन्द्र सुरुवातीकालमा प्राथमिकतामा पर्न नसकेको हो ।

तर, अहिले अवस्था फेरिएको छ । हिजाका नेपाली विद्यार्थी आज सफल व्यवसायी भएका छन् । नागरिकता र स्थाई बसोबासको अनुमति पाएर नेपालीहरु निकै अगाडी बढिसकेका छन् । कुइन्सल्याण्डको राजमार्ग र पुल निमार्णमा त नेपाली इन्जिनियरहरुको ठुलो योगदान छ ।

अष्ट्रेलियन सरकारले पनि नेपालीलाई महत्व दिन थालेको छ । संघिय सरकारले त नेपाली सामुदायिक केन्द्रका लागि १० लाख डलर दिने घोषणा नै गरिसकेको छ ।
मेलवर्नमा त नेपालीले सामुदायिक केन्द्रका लागि जग्गा समेत किनिसकेका छन् । सिड्नीमा जग्गा किन्ने प्रकृया सुरु भएको छ । नेपालीहरुको संख्याका हिसाबले समेत तेस्रो ठुलो शहर ब्रिजवेनमा पनि नेपाली सामुदायिक केन्द्र बन्न सक्ने प्रसस्तै आधारहरु तयार भइसकेको छन् । केवल आवश्यकता छ त तपाईको साथको ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ