NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

साउदी अरबमा आक्रमणमा परी फेरि एक नेपाली कामदारले गुमाए ज्यान

Nepaltube Australia

साउदी अरबमा फेरि एक नेपाली कामदारले आक्रमणमा परी ज्यान गुमाउनुभएको छ।

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार अर्थात् नोभेम्बर २६ मा जाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण भएको थियो।

उक्त आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने विभिन्न देशका केही कामदार घाइते भएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले पनि सामाजिक सञ्जाल एक्समार्फत नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। तर उहाँको नाम र ठेगाना भने अहिलेसम्म खुलाइएको छैन।

त्यसो त साउदी अरबमा आक्रमणमा परी नेपालीले ज्यान गुमाएको यो पहिलो घटना भने होइन।

यसअघि अक्टोबर २१ मा पनि शैबा तेल क्षेत्रमा भएको आक्रमणमा महोत्तरीका ४५ वर्षीय भरत महतोको मृत्यु भएको थियो।

योसँगै पछिल्लो डेढ महिनामा साउदी अरबमा आक्रमणमा परी ज्यान गुमाउने नेपालीको सङ्ख्या कम्तीमा दुई पुगेको छ।

त्यस्तै, नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादमा भएको आक्रमणमा पनि तीन नेपाली घाइते भएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार हालैका आक्रमणमा घाइते भएका तीन नेपालीमध्ये एक जना निको भइसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ।

साउदी अरबमा करिब चार लाख नेपाली कामदार कार्यरत छन्।

पछिल्लो समय भइरहेका यस्ता आक्रमणका कारण त्यहाँ काम गर्ने नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ।

त्यसैले तपाईं वा तपाईंका आफन्त साउदी अरबमा हुनुहुन्छ भने आफ्नो सुरक्षामा विशेष ध्यान दिनुहोला। साथै, स्थानीय प्रशासन र नेपाली दूतावासले दिएका सुरक्षा निर्देशन पनि पालना गर्नुहोला।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार