NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

रोमानियामा नेपाली श्रमिकमाथि श्रम शोषणको आरोप

Nepaltube Australia

रोमानियाको एक लजिस्टिक कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपाली श्रमिक सम्झौताअनुसार तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

रोमानियाको बुलेटिन भाले क्षेत्रमा रहेको बिसार लजिस्टिक कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले सम्झौताअनुसार पारिश्रमिक नपाएको, आवासबापत रकम कटौती गरिएको र पर्याप्त काम नदिइएको आरोप लगाएका छन्।

श्रमिकहरूले पानी र बिजुलीबापत लिँदै आएको ३०० रोमानियन लेउ कटौती गर्न नहुने, काम भए पनि नभए पनि आधारभूत तलब पाउनुपर्ने, रात्रिकालीन कामको अतिरिक्त पारिश्रमिक, सार्वजनिक बिदामा काम गर्दा दोब्बर पारिश्रमिक, वार्षिक बिदा, खाना तथा पारिश्रमिकसहितको बिरामी बिदालगायत १५ बुँदे माग राखेका थिए।

तर, आन्दोलनपछि कम्पनीले सीसीटीभी फुटेजका आधारमा आन्दोलनमा सक्रिय श्रमिकहरूको पहिचान गरी कारबाही थालेको आरोप छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) रोमानियाका अनुसार करिब २० जना नेपाली श्रमिकलाई कामबाट हटाइएको छ।

रोजगारी गुम्ने डर र कम्पनीले आधारभूत तलब उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि श्रमिकहरूले आन्दोलन स्थगित गरी काममा फर्किएका छन्। यद्यपि, आवास र खानासम्बन्धी सुविधाबारे अझै सहमति हुन सकेको छैन।

एनआरएनए रोमानियाले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको र श्रमिकका माग सम्बोधन नभए रोमानियाको श्रम अदालतसम्म जाने जनाएको छ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार