NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

१८ घण्टे लोडसेडिङदेखि झिलिमिली नेपालसम्म, एक दशकमा विद्युत् क्षेत्रमा ठूलो परिवर्तन

Nepaltube Australia

कुनै समय लक्ष्मीपूजाका दिन धेरै बिजुली प्रयोग नगर्न आग्रह गर्ने नेपाल विद्युत् प्राधिकरणले अहिले देशभर निर्बाध विद्युत् आपूर्ति गर्ने अवस्थामा पुगेको छ।

एक दशकअघि दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपेका नेपालीले अहिले उज्यालोमा तिहार मनाउन पाएका छन्।

२०७३ सालको लक्ष्मीपूजाका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा लोडसेडिङ नगर्ने व्यवस्था सुरु गर्नुभएको थियो।

विद्युत् आपूर्ति व्यवस्थापनमा गरिएको सुधारपछि लोडसेडिङ क्रमशः हट्दै गएको थियो। त्यसपछि २०७५ साल वैशाखमा नेपाललाई औपचारिक रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो।

हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब चार हजार मेगावाट पुगेको छ।

लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकामा करिब ३५० मेगावाट र देशभर करिब एक हजार ७०० मेगावाट विद्युत् खपत हुने अनुमान गरिएको छ।

यस वर्ष भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट प्रभावित भएको बताइए पनि लक्ष्मीपूजाका दिन लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ।

दश वर्षअघि लोडसेडिङको तालिकाअनुसार दैनिकी चलाउन बाध्य नेपालीका लागि अहिलेको झिलिमिली तिहार देशको विद्युत् क्षेत्रमा भएको परिवर्तनको उदाहरण बनेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार