सुकुम्बासीलाई स्थानीय तहमा जान मन्त्री रावलको आग्रह, लालपुर्जा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई सम्बन्धित स्थानीय तहमा जान आग्रह गरेकी छन्।
शनिबार होल्डिङ सेन्टर पुगेर मन्त्री रावलले भूमिहीन ठहर भएका १२ परिवारलाई एक महिनाको कोठा भाडाबापतको रकम लिएर स्थानीय तहमा जान र बाँकी दुई महिनाको रकम पछि उपलब्ध गराउने बताएकी हुन्।
तर सुकुम्बासीहरूले वैकल्पिक आवासको व्यवस्था गरी लालपुर्जा नदिएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान लिएका छन्। त्यसपछि मन्त्री रावलले उनीहरूलाई छलफल गरी निर्णय लिन सोमबारसम्मको समय दिएकी छन्।
सुकुम्बासीहरूले स्थायी आवास, लालपुर्जा, उचित क्षतिपूर्तिसहित ६ बुँदे मागसमेत मन्त्री रावललाई बुझाएका छन्।
यसैबीच, शुक्रबारदेखि सरकारले बन्द गरेको खानाको व्यवस्था शनिबार साँझदेखि पुनः सुरु गरिएको सुकुम्बासी प्रतिनिधिले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…

