Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतिहारको दोश्रो दिन आज लक्ष्मी पुजा र कुकुर पुजा गरिदै, आजबाटै देउसी भैली सुरु !

तिहारको दोश्रो दिन आज लक्ष्मी पुजा र कुकुर पुजा गरिदै, आजबाटै देउसी भैली सुरु !


काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहारको आज दोश्रो दिन, साँझ दिपावलीसहित लक्ष्मि पुजा गरिदैछ । दिउँसोसम्म भैरवको बहान कुकुरलाई पुजा गरेर, मीठा खानेकुरा खान दिइ कुकुर तिहार मनाइदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ । कुकुर घरमा पालिने, आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर भएकाले समेत यमपञ्चकमा पुज्ने, मिठोमसिने खानेकुरा दिने गरिन्छ । यो जनावरले सुरक्षाकर्मीलाई सुँघेर अपराधी पत्ता लगाउन समेत सहयोग गर्नेगर्दछ । कार्तिक कृष्णपक्षको चतुर्दशीलाई नरक चतुर्दशीका रुपमा समेत मनाइन्छ । यस दिन नरकबाट मुक्ति प्राप्त गर्न प्रातःकालमा तैलाभ्याङ्ग स्नान गर्ने गरिन्छ । यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

दिउँसो २ बजेर १४ मिनेटपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा गरिन्छ । औँसीको दिन साँझमा दीपावली गर्दै ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । सफा र उज्यालो स्थानमा लक्ष्मीले प्रवेश गर्ने मान्यता अनुसार घरका आँगन, कोठा तथा वरिपरि सफा गरि घरलाई फूल तथा बत्तीहरुले सिँगारिन्छ । घरको मूल ढोकाबाट पूजा कोठासम्म लक्ष्मीको पाइला बनाएर दीपावली गर्दै दियो, कलश, गणेशको पूजा गरि गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर लक्ष्मी देवीको पूजा गर्ने गरिन्छ ।

लक्ष्मी पूजाको दिनबाट छोरी–चेलीहरुले समुह बनाएर भैली खेल्ने परम्परा रहिआएको छ । भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ