रवि लामिछाने अझै ७ दिन प्रहरी हिरासतमा रहने, अब काठमाडौंमा आन्दोलन !
काठमाडौं÷पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि अदालतले थप ७ दिन म्याद उपलब्ध गराएको छ । जिल्ला अदालत कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति लामिछाने कात्तिक २ गते पक्राउ पर्नुभएको थियो । पक्राउ गरिएकै दिन रातारात पोखरा लगिएको थियो । पहिलो पटक कार्तिक ४ गते आइतबार अदालतले पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । उही प्रकृतिको सहकारी ठगी प्रकरणमा असोज ६ मा पक्राउ पर्नुभएका पूर्व डीआईजी छविलाल जोशी समेत लामिछानेसँगै प्रहरी हिरासतमै हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको छ । गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई फरार रहेका छन् । गैह्र कानुनी माध्यमबाट गोर्खा मिडियामा सहकारीको रकम लगेर अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा अघि बढाइएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै आन्दोलन गरिरहेको छ । सिंगो पार्टी पंक्ति, समर्थक पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेकोमा एक सातापछि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भन्दै पोखरा आन्दोलन स्थगन गरिएको छ ।सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको छ । जीबी राई नेतृत्वका देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य सहकारी सम्बन्धि छानविन विशेष समितिले बाहिर ल्याएको छ ।
तपाईको प्रतिक्रिया