उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च निगरानी गर्दै निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चलाई समेत निर्वाचन आयोगले खर्चको सीमाभित्रै राखेर निगरानी गरिरहेको छ ।
निर्वाचन आयोगको कानुन शाखाकी उपसहिव समेत रहनुभएकी सहायक प्रवक्ता सीता पुन श्रीसले उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि आयोगले जानकारीमा राखेर निगरानी गरिरहेको नेपालट्युबलाई जानकारि दिनुभएको हो । अहिले कुन व्यक्तिले, कुन संस्थाले सोसल मिडियामा कति खर्च गरिरहेका छन् ? सञ्जालमार्फत भइरहेको डिजिटल खर्च बारे समेत आयोगले लागत संकलन गरेर निगरानीसँगै समेत गराएको उहाँले बताउनुभयो ।
आगामी फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवारका लागि ठाउँ अनुसार खर्चको सीमा निर्वाचन आयोगले तोकिदिएको छ । सुगम जिल्लाका हकमा र दुर्गम जिल्लाका हकमा फरक फरक खर्च सीमा रहेको छ । काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्र (क्षेत्र नं १, ३, ६, ७ र ८) का उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन् । यसबाहेक अरु १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख बराबर र ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ ।
यसरी उम्मेदवारले गरेको खर्च र यसको श्रोतबारे निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । अनावश्यक खर्चको प्रतिस्पर्धा हटाएर निर्वाचनलाई सबै उम्मेदवारका लागि स्वतन्त्र प्रतिस्पर्धाको रुपमा अघि बढाउन निर्वाचन आयोगले निगरानी बढाइरहेको छ ।
















तपाईको प्रतिक्रिया