Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली भुटानी शरणार्थी प्रकरण,तत्कालिन मन्त्रीदेखी गृह सचिवसम्म अनुसन्धानमा !

नक्कली भुटानी शरणार्थी प्रकरण,तत्कालिन मन्त्रीदेखी गृह सचिवसम्म अनुसन्धानमा !


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ असुलीमा संलग्न गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको खुलेको छ । प्रहरीले गत चैत १२ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठूलो रकम असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेपछि यस्तो रहश्य खुलेको हो ।

चैत १५ मा मोरङका सागर राई पक्राउ परेपछि नक्कली भुटानी शरणार्थी प्रकरणको थप रहश्य खुलेको थियो । पक्राउ आरोपितको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र बादलपछिका गृहमन्त्री बनेका बालकृष्ण खाँणको पालामा गृहसचिव बनेका टेकनारायण पाण्डे र पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । पूर्वउर्जामन्त्री समेत रहेका एमाले सचिव रायमाझी र पूर्वगृहमन्त्र समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक विरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ ।

बहालवाला सचिव पाण्डेसँगै नेताद्धय थापा र रायमाझीसम्मले यो गिरोहबाट आर्थिक लाभ लिएको अनुसन्धान संलग्न प्रहरी अधिकृतले जिकिर गरिरहेका छन् । प्रहरीका अनुसार गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीमार्फत यो समूहको सेटिङ अघि बढेको थियो । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा निजी सहायकको भुमिकामा थिए । गृहमन्त्रालयमा पेश भएको भुटानी शरणार्थीको नामावलीमा नेपाली नागरिकको नाम राखेर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार मात्रै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप समेत पक्राउ परेका छन् । भ्रष्टाचार बाहेकको फौजदारी अभियोगमा नेपाल सरकारको बहालवाला सचिव पक्राउ परेको यो सम्भवतः पहिलो घटना हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै कानुनी दायरामा आउने बताउनुभएको छ । प्रहरीले यो घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान अघि बढाएको र संलग्न सबै कारबाहीको दायरामा आउने दाबी गर्दैगर्दा विगतका सबै भ्रष्टाचार र अनियमितताका फाईल खोज्नुपर्ने आवज समेत बलियो रुपमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा यो मामिलामा खरो रुपमा उत्रिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत भ्रष्टाचारविरुद्धको छानविनमा निर्मम भएर कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ