न्यू साउथ वेल्सका हजारौं बासिन्दा अझै बाढीबाट प्रभावित, केही भने घर फर्किन थाले !
ब्रिजबेन । न्यू साउथ वेल्सका हजारौं बासिन्दाहरू अझै पनि बाढीबाट प्रभावित बनिरहेका छन् । लगातारको वर्षा र बाढीका कारण विशेष गरी राज्यको हन्टर क्षेत्रका बासिन्दा बढी प्रभावित भएका हुन् ।
केही स्थानमा पानीको स्तर घटेपनि मेटल्याण्डमा पानी अझै उच्च रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा राज्य सरकारले सफाईमा लगायतको उद्धार, राहत कार्यदल परिचालन गरेको छ । २ हजार भन्दा बढी घरको मूल्याङ्कन गरिएकोमा २ सयभन्दा बढी बस्न योग्य नै नहुनेगरि प्रभावित भएको र ९७३ लाई मर्मत पश्चात उपयोग गर्न मिल्ने अवस्थामा रहेको पाइएको छ । पछिल्लो २४ घण्टामात्रै ३६ बाढी उद्धार गरिएको अधिकारिहरुले बताएका छन् । बाढी आएपछि घरको संरचना र विद्युतीय क्षति हुनसक्ने भन्दै स्थानीयलाई सचेत समेत गराइएको छ । घर खाली गर्ने आदेशसँगै सुरक्षित स्थानमा पुगेका नागरिकलाई अव घर फर्किन सुरक्षित भएपछि आह्वान गरिने बताइएको छ ।
एसइएस प्रवक्ता एडम जोन्सले “सावधानीका साथ फर्कन” आदेश जारी गरिएपछि सयौँ नागरिक घर फर्किएको बताउनुभयो । प्रभावित क्षेत्रका सबैलाई भने फर्किन आदेश दिइएको छैन । राज्य सरकारले अति प्रभावित क्षेत्रका नागरिकलाई नगद अनुदानको घोषणा समेत गरेको छ ।
तपाईको प्रतिक्रिया