Monday, 8 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा झरीको मार : दुईदिनमै १५ जनाको मृत्यु, १८ जना घाइते !

नेपालमा झरीको मार : दुईदिनमै १५ जनाको मृत्यु, १८ जना घाइते !


काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर देशभर अहिलेसम्म १५ जनाको ज्यान गएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार देशभरको बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको पाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बाढी, पहिरो तथा विपद्जन्य घटनामा परेर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा २ जना गरी १५ जनाको मृत्यु भएको जानकारि दिनुभयो । काठमाडौंस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिक, उदयपुरको रौतामाई गाउँपालिका–५ मा राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ मा गएको पहिरोमा परेर जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ । यस्तै, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका–७ बस्ने हिरा नेपाली, अनिशा वास्तोला, श्याम भण्डारीको मृत्यु भएको छ । स्याङ्जामा बिरुवा गाउँपालिका–६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जानकारि दिएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्किनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका–६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका–८ बग्रपुर बस्ने मनियम चौधरीले पहिरोमा परी ज्यान गुमाएको प्रहरी प्रधान कार्यालय नक्सालले जाकनारि दिएको छ ।

बाढी र पहिरामा परेर दोलखा गौरीशङ्कर गाउँपालिका–९का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल वेपत्ता भएका छन् । हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना, काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएको रेकर्ड प्रहरीले उपलब्ध गराएको छ ।

भारी वर्षाले आज पनि देशभरको जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च बन्दा सतर्कता अपनाउन अपिल गरिएको छ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियोएको छ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा समेत जल सतह बढ्दा प्रहरीले गस्ती तथा अनुगमन गरिरहेका छन् । देशभरका अधिकांश ठूला राजमार्ग पहिरोका कारण खुल्ने र बन्द हुने अवस्था देखिदैछ । कतिपय राजमार्ग वर्षा जारी रहँदा अबरुद्ध अवस्थामैछन् । निरन्तरको झरीले देशभरको जनजिवन प्रभावित भएको छ । पहिरो गएका स्थान र डुबानको जोखिम रहेका क्षेत्रमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार र घटनापछिको आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन र जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग समेत प्रधानमन्त्री प्रण्डले आह्वान गर्नुभएको छ । आज एक सूचना जारी गर्दै प्रधानमन्त्री प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले समेत सुरक्षा संयन्त्रको बैंठक राखेर उद्धार र राहतसँगै पूर्व सावधानीमा प्रभावकारी भुमिका खेल्न निर्देशन दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ