Thursday, 19 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News२२ तले आधुनिक धरहरा खुला, दिनमा ६ सय जनाले निःशुल्क चढ्न पाउने !

२२ तले आधुनिक धरहरा खुला, दिनमा ६ सय जनाले निःशुल्क चढ्न पाउने !


काठमाडौं । भूकम्पबाट भत्किएको धरहरालाई संरक्षण गरेर बनाइएको आधुनिक धरहरा संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको छ । केही समय निःशुल्क चढ्न पाउने व्यवस्था मिलाइएर शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुला गरेको हो ।

पहिलो पटक खुला गरिएको आधुनिक धरहरा चढ्न बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ । शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले व्यवस्थापनको जिम्मा पाएको धरहरा सरकारले गठन आदेश नबनाउञ्जेलसम्म सर्वसाधारणलाई निःशुल्क चढ्न दिइने भएको छ । निःशुल्क प्रवेश गर्न पाइने भएपनि अनलाइन टिकट बुक भने गर्नुपर्ने हुन्छ । वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था गरिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक कोशनाथ अधिकारीले वेबसाइट नखुल्ने समस्या देखिएको गुनासो आएपछि काउन्टरमा गएर टिकटक लिएको प्राथमिकताका आधारमा धरहरा चढ्न पाइने समेत जानकारि दिनुभयो । एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने गरि व्यवस्था मिलाइएको छ । १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टामा सय जनाले चढ्न पाउनेगरी व्यवस्था मिलाइएको छ ।

यद्यपी सर्वसाधारणका लागि खुला गरिएको धरहरा निर्माणको करिब ५ प्रतिशत काम भने बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले पूरा काम सकाएर हस्तान्तरण गरेपछि मात्र यसको सञ्चालन प्रक्रिया टुंग्याइनुपर्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गर्नुभएको थियो । २०७२ सालको भूकम्पमा बचेको धरहराको बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिएको छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहरको समेत अवलोकन गर्न पाउनेछन् । भूकम्पले क्षति पुर्‍याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको प्रक्रिया शिलान्यास मार्फत अघि बढेको थियो । भीमसेन थापाले काठमाडौंको सुन्धारामा विक्रम संवत् १८८२ मा ११ तलाको धरहरा निर्माण गरेकोमा १९९० को भूकम्पले धरहरामा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ११ तलाबाट नौ तले बनाउनुभएको थियो ।

नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक बनाइएको छ । साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको छ । धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा ल्याउनेगरि संरचना बनाइएको छ । आधु्निक धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट छन् । त्यसैले यो धरहराको मोटाइ पहिलाको धरहराभन्दा ठूलो छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ