नेपालमा आजबाट चल्न थाल्यो रेल, जयनगर–कुर्था रुटमा दैनिक दुईपटक चल्ने !
काठमाडौं । लामो समयदेखीको नेपालीहरुको रेल प्रतिक्षा आजबाट पुरा भएको छ । जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेसँगै नियमित सञ्चालन सुरु भएको हो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आएको बताउनुभयो । दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने बताइएको छ । जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारि दिनुभएको छ । जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ ।
रेल चढ्दा अपनाउनुपर्ने नियमहरु
जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने नियम बनाइएको छ । खुला सीमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्न आग्रह गरिएको छ ।
यस्तो छ टिकटको मूल्य
नेपालको जनकपुरधामबाट यात्रा गर्दा जयनगरसम्म सामान्य सीटको ७० रुपैयाँ टिकट तोकिएको छ । एसी भएको सिटको भने तीन सय ७० रुपैयाँ टिकट काट्नुपर्ने हुन्छ । भारतबाट आउँदा भने सामान्य टिकटको ९० रुपैयाँ र एसी भएको सीटको चार सय ५० रुपैयाँ लाग्नेछ । एक पटकमा एक हजार पाँच सय यात्रु अटाउने क्षमता रेलको रहेको छ ।
तपाईको प्रतिक्रिया