आज तिहारको अन्तिम अनि महत्वपूर्ण दिन, यसरी लगाइदैछ भाइटिका !
काठमाडौं । तिहारको अन्तिम तथा महत्वपुर्ण दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीका हातबाट भाइटिका लगाउँदैछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर ५१ मिनेटको साइत निर्धारण गरेपनि भाइटिका दिनभरजसो लगाइन्छ ।
दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गरिरहेका छन् । टीका लगाइदिएर दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ । साइतपछि दिनभरि नै टीका लगाउन सकिने भएकाले अहिले पनि भाइटिका लगाउन जाने आउनेहरुको चलहपहल देखिएको छ । सप्तरंगी टिका भन्ने गरिएपनि भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने शास्त्रीय मान्यता रहेको छ ।
यसवर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्किदा उत्तम हुने पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारि दिएको छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाइरहेका छन् । कात्तिक कृष्ण त्रयोदशीका दिन सुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटिका लगाएपछि समाप्त हुने शास्त्रीय मान्यता छ ।
यस्तै,नेपाल बाहिर अष्ट्रेलिया, अमेरिका, बेलायत लगायत विश्वका विभिन्न देशमा शिक्षा र अवशर खोज्दै पुगेका नेपालीहरुले समेत भाइटिका लगाइरहेका छन् । स्वदेश विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकता र आत्मियतामा बाध्ने काम दशै र तिहारले गर्नेगरेको छ ।
तपाईको प्रतिक्रिया