Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalखुला आकाशमुनि रहेका भूकम्प प्रभावित बिरामी पर्न थाले, कहिले बन्ने अस्थायी आवास ?

खुला आकाशमुनि रहेका भूकम्प प्रभावित बिरामी पर्न थाले, कहिले बन्ने अस्थायी आवास ?


काठमाडौं । बेलैमा न्यानो वासको व्यवस्थासहित राहतमा ध्यान नदिइदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावित चिसोका कारण बिरामी पर्न थालेका हुन ।

घर भत्केका र चर्केका प्रभावित क्षेत्रका नागरिक अहिले पनि खुला आकाशमुनि बसिरहेका छन् । तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री सरकारसँगै विभिन्न सङ्घसंस्थाले बाँडेपनि चिसोको मार बढिरहेको छ । त्रिपालले चिसो थेग्न नसक्दा भूकम्प प्रभावित क्षेत्रका बालबालिका, सुत्केरी र वृद्धवृद्धा बिरामी परेका छन् । चिसो बढ्न थालेसँगै पीडितलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको स्वयम भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती बताउँछन् । एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन ढिला भएको भन्दै गुनासो गर्न थालिएको घर्तीले बताए । भूकम्पको केन्द्रबिन्दु जाजरकोट यसअघि पनि झाडापखालाबाट निक्कै प्रभावित भएको जिल्ला हो । अहिले रुघाखोकी, ज्वरो र अन्य सरुवा रोगको जोखिम बढेको छ ।

यता, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले भने प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अवस्था थप नाजुक हुन नदिन डाक्टरसहित स्वास्थ्यकर्मीको टोली निरन्तर खटिएको बताएका छन् । राहत घोषणा मात्रैमा सरकार अल्झिएर भुकम्प पीडितका लागि स्थायी आवास बनाउन ढिला भएमा प्रभावित क्षेत्रका नागरिकलाई जाडो र बर्षाले थप सताउने चिन्ता बढ्न थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ