नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोह पक्राउ, युद्धका क्रममा ७ नेपालीको मृत्यु !
प्रतिव्यक्ति ७ लाख लिएर भिजिट भिसामा पठाउने गरेको खुलासा
काठमाडौं । रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै नेपाली युवालाई रुस पठाउने भुमिकामा संलग्न १२ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुंगेलले पक्राउ अभियुक्तहरु रुसी सेनामा जान युवा खोज्ने,कागजात मिलाइ दिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्न पाइएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथी म्याद थप गरेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।‘पहिले टिकटक, पछि फेसबुक र अन्य माध्यमबाट ७ लाख जति खर्च हुन्छ, मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनेर प्रचार गरेको देखिन्छ’, उनले भने, ‘योग्यता र समयअवधि अनुसार वृद्धि हुँदै जाने भन्ने विभिन्न माध्यमबाट प्रचार भएपछि नेपाली युवा प्रलोभनमा परेको देखिन्छ ।’ ढुंगेलले बताउनुभयो ।
पटक-पटक गरेर धेरै युवा पठाएको गिरोहले प्रतिव्यक्ति ७ लाख लिनेगरेको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवाहरुले प्रवेश गरिरहेका छन् । युद्धका क्रममा ७ जना नेपाली युवाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । युद्ध थप चर्किदा र नेपाली युवाको जोखिम मोलेर प्रवेश बढेको बारे सरकार बेखबर जस्तै छ ।
तपाईको प्रतिक्रिया