राष्ट्रपति, प्रधानमन्त्री निवास र माइतीघर आसपासमा थप २ महिना प्रदर्शन गर्न निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय सितलनिवास, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र माइतीघर मण्डला लगायतका क्षेत्र वरपर तोकिएको निषेधित क्षेत्रको व्यवस्था थप २ महिनाका लागि कायम राखेको छ । गत महिना एक महिनाका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।
प्रशासन कार्यालयले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई थप दुई महिना निषेधित क्षेत्र तोकेको छ । राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ । यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्मको निषेधित क्षेत्रको आदेश थप २ महिना लम्ब्याईएको छ ।
अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनशन, धर्ना घेराउ र विरोध प्रदर्शन गरिएकाले त्यस्ता काम गर्न रोक लगाउन निषेधाज्ञा जारी राखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । निषेधित क्षेत्रको आदेश पालना गर्न सबैलाई अपिल समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया