आज माघे सङ्क्रान्ति पर्व, देवघाट, टुडिखेल लगायतका स्थानमा विशेष मेला
घिउ,चाकु, तरुलसँगै लड्डु खाने परम्परा
काठमाडौं । आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्तिका रुपमा मनाउने गरिएको हो ।
आजका दिन गरिने स्नान, जप, तप, ध्यान साधना, दान आदि शुभ मानिन्छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने पररम्परा रहेको बताइन्छ । माघ १ गतेदेखि उत्तरायण शुुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
आजकै दिन थारु,मगर लगायतका समूदायले माघी पर्व धुमधामसँग मनाउछन । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज अनिवार्य नुहाउनुपर्ने मान्यता छ ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख प्रधानमन्त्रीसहित दलका नेताहरुले माघे सङ्क्रान्तिको शुभकामना दिदै यस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया