Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाविकको २५ प्रतिशत मात्रै अन्तर्राष्ट्रिय उडान, भदौ १ बाट उडान सूचारु हुनेमै आशंका

साविकको २५ प्रतिशत मात्रै अन्तर्राष्ट्रिय उडान, भदौ १ बाट उडान सूचारु हुनेमै आशंका


काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्चालन गर्नेगरी तयारी थालेको छ । वायुसेवाका प्रतिनिधि र प्राधिकरणका अधिकारीहरुबीच हालै भएको छलफलका आधारमा भदौ १ गतेदेखि ३३ प्रतिशत आन्तरिक उडान र २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेगरी प्रारम्भीक गृहकार्य सुरु गरिएको हो । सरकारले चैत ९ गतेदेखि आन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडानमा रोक लगाएपनि त्यसयता एक हजार भन्दा बढी चार्टर उडान भइसकेका छन् । ती उडानबाट करिब ५० हजार यात्रुले सेवा लिएकोमा कार्गोमार्फत कम्तीमा ८ लाख ९७ हजार किलोग्राम निर्यात तथा ७ लाख ९१ हजार किलोग्राम कार्गो आयत भएको विमानस्थलको तथ्यांकमा देखिन्छ ।

अन्तर्राष्ट्रिय उडानको तयारी

अब हुने उडान सञ्चालनको अनुमती सीसीएमसीबाट नभई प्राधिकरणले दिनेछ । नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने ३० वटा वायुसेवा कम्पनी रहेकोमा सोमबारसम्म १२ वटा विदेशी वायुसेवा कम्पनीले भदौ १ पछिको उडानका लागि अनुमति मागेको र अनुमति माग्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । १२ वटा कम्पनीले मात्रै सातामा १ सय ५८ वटा उडान गर्न सकिने जनाएका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता १४ सय यात्रुको हो । यहाँ दैनिक ५० देखि ६० हाराहारी अन्तर्राष्ट्रिय उडान हुन्थे । अब नियमित उडानको २५ प्रतिशत मात्रै उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फ डोमेस्टिक भवनमा रहेको सिट संख्या ६ सयको आधा प्रति घन्टा ३ सय यात्रुलाई मात्रै सेवा दिन सकिनेछ । आन्तरिकतर्फ सामान्य अवस्थामा दैनिक ३ सयदेखि चार सय ५० हाराहारी (टेक–अफ तथा ल्याण्डिङ) उडान भएकोमा अब ३३ प्रतिशतमा झार्नुपर्नेछ ।

आन्तरिक उडानको तयारी

आन्तरिकतर्फ ३३ प्रतिशत उडान सञ्चालन भएमा भदौ पहिलो साता सुगम रुटमा उडान गर्ने चार वटा वायुसेवामध्ये दैनिक बुद्ध एयरले १७, यति एयरलायन्सले ११, श्री एयरलायन्सले ८ र सिम्रिकलाई २ वटा उडान गर्नेछन् । विमानस्थलका निर्देशक देउचन्द्र लाल कर्णको संयोजकत्वमा गठित कमिटीको छलफलमा भएको प्रारम्भिक सहमति अनुसार दुर्गम उडान अन्तरगत तारा एयरले ३, सीताले ३ र समिटले ३ वटा उडान गर्नेछन् । नेपाल वायुसेवा निगम छलफलमा सहभागी नभएकाले उसले दैनिक कतिवटा उडान गर्ने टुंगो लागिसकेको छैन । ५ वटा चिनियाँ जहाज ग्राउन्डेड गरेपछि अब उसँग दुइटा टुइनअटरमात्रै बाँकी छन् ।

नेपालमा कोरोना संक्रमण र मृत्यु दर बढ्दो क्रममा देखिएको छ । अझ काठमाडौं उपत्यका सहित जनघनत्व बढी भएका शहरहरुमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिदैछ । सरकारले परिक्षण बढाएर कोरोनाको अवस्था एकिन गर्न अहिलेसम्म नसकिरहेका कारण तोकिएकै समयमा हवाई उडानले निरन्तरता पाउनेमा समेत आशंका बढिरहेको छ । नेपालमा पुनः लकडाउन नभएको अवस्थामा भने आवश्यक स्वास्थ्य सावधानी सहित हवाई उड्ययनले नियमित उडानको थालनी गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ