अनुमतिबिनै सञ्चालन भएको साउदी सिप प्रमाणीकरण केन्द्रमा सरकारको तालाबन्दी
नेपालट्युब|
सरकारको अनुमति नलिई साउदी रोजगारीका लागि सिप प्रमाणीकरण (एसभीपी) कार्यक्रम सञ्चालन गरेको भन्दै काठमाडौंको बसुन्धरास्थित केन्द्रमा सरकारले तालाबन्दी गरेको छ।
श्रम मन्त्रालयको संयुक्त टोलीले अनुगमनका क्रममा साउदी जान लागेका श्रमिकबाट ५० अमेरिकी डलर उठाएर सिप परीक्षण र प्रमाणपत्र वितरण भइरहेको भेटिएको थियो।
श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, सीटीईभीटी र शिक्षा मन्त्रालयको टोलीले केन्द्रले तोकिएको सर्तविपरीत काम गरिरहेको निष्कर्ष निकालेको हो।
टोलीका अनुसार सरकारको स्वीकृतिबिनै श्रमिकबाट अतिरिक्त शुल्क उठाएर सेवा सञ्चालन गरिएको थियो।
यसअघि विरोधपछि एसभीपी कार्यक्रम स्थगित गरिएको भनिए पनि केन्द्रले सिप परीक्षण जारी राखेको भेटिएको हो।
अनुगमन टोलीले आफ्नो प्रतिवेदन श्रम मन्त्रालयमा बुझाएपछि मन्त्रालयले आवश्यक कानुनी कारबाही गर्ने जनाएको छ।