अस्ट्रेलिया जानुअघि जान्नैपर्ने नयाँ नियम, के-के बदलियो?

काठमाडौं- अस्ट्रेलियाले आप्रवासनसम्बन्धी नियममा कडाइ गर्ने नयाँ योजना सार्वजनिक गरेको छ। गृहमन्त्री टोनी बर्कले विद्यार्थी, कामदार र भिजिटर भिसासहित विभिन्न क्षेत्रमा नयाँ व्यवस्था घोषणा गरेका हुन्।
अब अस्ट्रेलिया उच्च शिक्षा पढ्न जाने विद्यार्थीले सामान्यतया श्रीमान् वा श्रीमतीलाई सँगै लैजान पाउने छैनन्। तर पिएचडी पढ्न जाने विद्यार्थीलाई भने यो नियम लागू हुने छैन। अस्ट्रेलियामै रहेका विद्यार्थी र उनीहरूका पार्टनरलाई पनि यो नियम लागू नहुने बताइएको छ।
विद्यार्थीले आफू अहिले पढिरहेको तहभन्दा तल्लो तहको पढाइका लागि भिसा लिन खोज्ने क्रमलाई पनि रोक्ने सरकारको योजना छ।
यस्तै, भिजिटर भिसामा अस्ट्रेलिया गएर अर्को भिसा लिन खोज्ने बाटो बन्द गर्न ‘नो फर्दर स्टे’ जस्ता सर्त लागू गरिने भएको छ।
सरकारले सन् २०२८ सम्म वार्षिक आप्रवासी संख्या ३ लाखबाट घटाएर २ लाख २५ हजार पुर्याउने लक्ष्य राखेको छ।
वर्किङ होलिडे भिसामा दोस्रो र तेस्रो वर्ष बस्न पाउनेको संख्या पनि घटाइने भएको छ। यसका लागि चिट्ठा प्रणाली ल्याउने योजना छ।
अस्ट्रेलियामा कानुनी आधारबिना बसिरहेका विदेशीलाई फिर्ता पठाउने काम पनि तीव्र बनाइने भएको छ। यसका लागि थप १०० अधिकारी परिचालन गर्ने योजना छ।
यस्तै, स्वास्थ्य, निर्माण, शिक्षा र सुरक्षा क्षेत्रमा आवश्यक दक्ष कामदारका आवेदनलाई प्राथमिकता दिइने भएको छ।
सिड्नीका अधिवक्ता संजिव पाण्डेका अनुसार नयाँ नियमले विद्यार्थी र उनीहरूको परिवारलाई आर्थिक असर पार्न सक्छ। विशेषगरी पार्टनरले काम गरेर विद्यार्थीलाई आर्थिक सहयोग गर्ने परिवारमा यसको प्रभाव पर्न सक्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





