अस्ट्रेलियामा विद्यार्थी भिसाका लागि बैंक ब्यालेन्स दोब्बर बनाउने प्रस्ताव, डेढ करोड रुपैयाँसम्म देखाउनुपर्ने हुन सक्ने
अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसाका लागि आवश्यक आर्थिक प्रमाणसम्बन्धी नियम थप कडा बनाउने प्रस्ताव अघि सारेको छ।
प्रस्तावअनुसार विद्यार्थीले हालको तुलनामा झन्डै दोब्बर रकम बैंकमा देखाउनुपर्ने हुन सक्छ।
हाल ट्युसन शुल्क, एक वर्षको बसोबास तथा यात्रा खर्चसहित करिब ६५ हजार अस्ट्रेलियन डलर आर्थिक स्रोत देखाउनुपर्ने उदाहरण दिइएकोमा नयाँ प्रस्तावअनुसार यो रकम विद्यार्थीको अध्ययन अवधि र शुल्कका आधारमा करिब १ लाख ३० हजारदेखि १ लाख ४० हजार अस्ट्रेलियन डलरसम्म पुग्न सक्ने बताइएको छ।
प्रस्तावमा विद्यार्थीको नाममा अस्ट्रेलियाली बैंकमा रकम जम्मा गर्ने तीन विकल्प उल्लेख गरिएको दाबी छ।
ती विकल्पमा अध्ययन अवधिको ५० प्रतिशत ट्युसन शुल्क र आवश्यक जीवनयापन खर्च बराबरको रकम भिसा आवेदनअघि एकदेखि तीन महिनासम्म बैंकमा राख्ने वा पूरा ट्युसन शुल्क भुक्तानी गरी १२ महिनाको जीवनयापन खर्च देखाउने व्यवस्था समावेश छन्।
अस्ट्रेलियाको गृह मामिला विभागले प्रस्तावमाथि नोभेम्बर २३, २०२६ सम्म सरोकारवालाबाट सुझाव मागेको बताइएको छ।
यसैबीच, अस्ट्रेलियाका सहायक अन्तर्राष्ट्रिय शिक्षा मन्त्री जुलियन हिलले कडा आर्थिक मापदण्डले वास्तविक विद्यार्थी पहिचान गर्न सहयोग पुग्न सक्ने धारणा राखेको बताइएको छ। यद्यपि बढी रकम देखाउँदैमा भिसा स्वीकृत हुने सुनिश्चितता हुँदैन।
प्रस्तावित व्यवस्था हाल लागू भइसकेको छैन। सुझाव संकलन र सरकारी निर्णयपछि मात्रै नयाँ नियमको अन्तिम स्वरूप स्पष्ट हुनेछ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…


