भोटेकोशी बाढीअघि विद्यालय खाली गर्दा जोगियो सयौंको ज्यान

नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले भोटेकोशीमा आएको भीषण बाढीको सूचना पाएपछि विद्यालय खाली गर्ने निर्णय गरेका थिए।
प्रधानाध्यापक दवाडीका अनुसार विद्यालयका लेखापालले चिच्याउँदै ‘बाढी आयो, बाढी आयो’ भन्दै खबर गरेपछि आफूले सुरुमा सामान्य बाढी आएको ठानेका थिए। विद्यालय खोलाको छेउमै रहेकाले खोलामा बाढी आउनु सामान्य भएको उनको बुझाइ थियो।
तर जब भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याइरहेको र विद्यालयसमेत जोखिममा पर्न सक्ने सूचना उनलाई फोनबाट आयो तब उनले गरेको एक निर्णयले सयौंको ज्यान जोगिएको छ। किनकी त्यसबेला विद्यालयमा सयौँ विद्यार्थी, शिक्षक तथा कर्मचारी उपस्थित थिए।
बाढि आइरहेको सूचना पाएपछि अभिभावक तथा शिक्षकहरू पनि विद्यालयमा आइपुगे। अवस्था गम्भीर हुन सक्ने अनुमान गर्दै दवाडीले शिक्षक तथा कर्मचारीसँग छलफल गरी तत्काल विद्यालय खाली गर्ने निर्णय लिए।
‘बाढीको सूचना गलत रहेछ भने एक दिनको पढाइ बिग्रिन्छ। तर सूचना सही रहेछ भने हामी पनि मर्छौं। बच्चा मात्रै होइन, हामी त्यहाँ बस्ने सबैको ज्यान जोखिममा थियो,’ दवाडीले भने, ‘त्यसपछि हामी सबै साथीभाइ मिलेर विद्यालय खाली गर्ने निर्णय गर्यौँ।’
वि.सं. २००७ सालमा स्थापना भएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय ७६ वर्ष पुरानो विद्यालय हो। नुवाकोटसहित आसपासका जिल्लामा समेत पहिचान बनाएको विद्यालयमा बाढीले ठूलो क्षति पुर्याएको दवाडीको भनाइ छ।
विद्यालयको भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक मूल्यांकन गर्दा करिब २ अर्ब रुपैयाँ बराबरको क्षति भएको उनको अनुमान छ।
बाढीपछि विद्यालयको भौतिक संरचना ध्वस्त भएपछि अब विद्यालयलाई कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने चुनौती थपिएको छ।
विद्यालय पुनः सञ्चालनका लागि विदुर नगरपालिकाले अस्थायी स्थान उपलब्ध गराएको छ। नगरपालिकाले तोकेको स्थानमा रहेको सहरी विकास कार्यालय र जिल्ला खेलकुद विकास समितिको कभर्ड हल आसपासको क्षेत्रमा विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको दवाडीले बताए।
विदुर नगरपालिकाले भदौ २४ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेपछि विद्यालय परिवारले पठनपाठन कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिरहेको उनले बताए।
‘आज हामी यहाँ छलफलमा छौँ। विद्यालय सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ। हामी फेरि उठ्छौँ, फेरि जुर्मुराउँछौँ,’ दवाडीले भने।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





